Home Blog Page 3

आफ्नो अवाज नै नभएको अडियोमा मेरो नाम जोडिनु प्रति मेरो घोर आपति

0

रौतहट ।। रौतहटको माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले फेक अडियोमा आफ्नो नाम जोडेर समाचार प्रकाशन प्रशारण गरेको प्रती आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको अडियो फेक भएको दाबी गरेका छन्।
उनका अनुसार उक्त अडियोमा सुनिएको आवाज नगरपालिकाका कुनै पनि निर्वाचित जनप्रतिनिधि वा कर्मचारीको नभएको स्पष्ट छ। नगरपालिकाको बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा नक्कली आवाज सार्वजनिक गरिएको भन्दै उनले यस्तो कार्यप्रति कडा आपत्ति जनाएका छन्।
यादवले भ्रम फैलाउने उद्देश्यले गरिएको यस प्रकारको कार्य कानूनी अपराध भएको बताउँदै यसको विरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।

अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि SEE काे नतिजामा उल्लेख्य सुधार भएकाे

रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिका अन्तर्गत रहेकाे एक विद्यालयकाे प्रधानाध्यापकले विद्यार्थीकाे शैक्षिक प्रगतिका लागि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
मा वि ब्रह्मपुरीकाे कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रधानाध्यापक श्रीवास्तवले विगत २ शैक्षिक सत्रदेखि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
विगतमा विद्यालयकाे SEE नतिजा अलि कमजाेर आएपछि SEE काे नतिजामा सुधार ल्याउने उद्देश्यले वहाँले साे कदम चालनु भएको हाे । आफूले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि पछिल्लो शैक्षिकसत्र २०८१ काे SEE काे नतिजामा उल्लेख्य सुधार भएकाे भन्दै वहाँले साे कक्षालाई यस वर्ष पनि निरन्तरता दिन लागेकाे बताउनु भयाे। यस विद्यालय चाैतर्फी विकासमा अहाेरात्र लाग्दै आउनु भएकाे प्रधानाध्यापक श्रीवास्तवकाे यस कार्यलाई अभिभावकहरूले सराहनीय कार्य भनेका हुन् । DIPENDRA SARITA SRIVASTAV CREATIVE LEARNING काे माध्यमले वहाले साे कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे । आफु यस विद्यालयमा कार्यरत रहुञ्जेल तथा सेवा निवृत्त भए पछि पनि आफ्नै लगानीमा अतिरिक्त कक्षालाई निरन्तरता दिइरहने वहाँले वताउनु भयाे । मा वि ब्रह्मपुरीका विद्यार्थीका लागि प्रधानाध्यापक श्रीवास्तवकाे आफ्नै लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्नुलाई शैक्षिक प्रगतिमा वहाँकाे दिर्घ साेच र पूर्ण तत्परतालाई उजागर गरेकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक विकास क्रम, वाम एकता र आजको आवश्यकता

0

प्रेमचन्द्र झा ।। नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात सन् १९४९ (२००६ साल) मा भएको हो। यसको संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ थिए। नेपालमा राणा शासनको निरंकुशताको विरुद्धमा उठेका विभिन्न राजनीतिक धारहरूमध्ये कम्युनिष्ट विचारधाराले नेपाली समाजमा महत्वपूर्ण प्रभाव पार्न थालेको थियो । २००६ साल वैशाख १० गते, भारतको कलकत्ताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरियो। यो पार्टीले पहिलो पटक नेपाली जनताका पक्षमा वैज्ञानिक समाजवाद, वर्गीय संघर्ष र सामाजिक न्यायको अवधारणा ल्यायो। २०१० सालमा पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिव बने। २०१४ सालमा दोस्रो महाधिवेशन पनि मनमोहनकै नेतृत्वमा भयो। २०१७ सालमा केशरजंग रायमाझीले राजा महेन्द्रको ‘शाही’ कूको समर्थन गरेपछि पार्टीमा ठूलो विभाजन आयो । २०२८ सालमा झापा विद्रोह भयो, जसलाई मालेले नेतृत्व गर्‍यो। यो सशस्त्र संघर्ष थियो र यसले पार्टीलाई विद्रोही धारतर्फ मोड्यो। कमरेड सीपी मैनाली मालेका महासचिव बने। त्यसपछिका वर्षहरूमा निरन्तर विभाजन र समूहहरूको निर्माण भयो। पुष्पलाल समूह, चाउम, मसाल, मार्क्सवादी, मसाल–मशाल जस्ता दर्जनौं उपसमूहहरू बन्न थाले। नारायणमान विजुक्छेले नेमकिपा गठन गरे। २०३५ मा माले फेरि पुनर्गठित भयो । २०४६ सालमा प्रजातान्त्रिक आन्दोलनमा वामपन्थी दलहरू अग्रपंक्तिमा थिए। २०४७ मा माले र मार्क्सवादी एकीकृत भई नेकपा (एमाले) बने। यही वर्ष मसालबाट बाबुराम भट्टराई, रूपलाल विश्वकर्मा, चाउम मिलेर एकता केन्द्र गठन भयो। २०५२ साल फागुन १ गते माओवादी जनयुद्ध सुरू भयो, जसले नेपालमा राज्य सत्ता नै हल्लाइदियो। २०५४ मा एमालेबाट वामदेव गौतम अलग भई माले गठन गरे, तर पछि २०५८ मा पुन: एकता भयो । २०६५ मा माओवादी र एकता केन्द्र मिलेर नयाँ माओवादी पार्टी बने। २०७० मा वैद्य समूह विभाजित भई नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वमा नयाँ पार्टी गठन गरियो। २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच सातबुँदे सहमति भयो र २०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो। २०७७ फागुन २३ गते नेकपा विघटन भयो र एमाले र माओवादी केन्द्र अलग–अलग भए। २०७८ भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भयो । नेपालको कम्युनिष्ट आन्दोलनले देशको राजनीति परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको छ। तर, विडम्बना यो थियो कि यो आन्दोलनले एकताको नाममा धेरै पटक विघटन, विभाजन, पुनर्गठन र पुनः एकताको चक्र पूरा गर्यो। एकता भएका बेला साझा विचारधारा—मार्क्सवाद, लेनिनवाद र माओवादी सिद्धान्तलाई जग बनाएर पार्टीहरू एक भएका थिए। जनयुद्ध, जनआन्दोलन र राजनीतिक संघर्षको साझा पृष्ठभूमिले उनीहरूलाई एक ठाउँमा ल्यायो। लोकतन्त्रपछिको शक्ति सन्तुलन र संसदीय बहुमत प्राप्त गर्ने लालसाले पनि पार्टीहरूलाई नजिक ल्यायो । तर, व्यक्तिगत अहंकार नेता नेता बिचको लडाइँ, गुटबन्दी, र आन्तरिक लोकतन्त्रको अभावले गर्दा ती एकता लामो समय टिक्न सकेनन्। सशस्त्र संघर्ष भर्सेज संसदीय मार्ग, संविधानप्रति दृष्टिकोण, शान्ति प्रक्रिया आदिमा देखिएका मतभेदले एकताको जग कमजोर भयो। सत्ताको लालच, प्रधानमन्त्री बन्ने–बनाउने झगडाले गर्दा विचारभन्दा पदले प्राथमिकता पायो । आजको नेपालमा वामपन्थी विचारधारा कमजोर हुँदै गएको छ भन्ने गुनासाहरू बढ्दो छ। जसले गर्दा वाम एकताको आवश्यकता अझ सशक्त रूपमा महसुस गरिएको छ। बारम्बार सरकार परिवर्तन, गठबन्धन राजनीति र नीति निरन्तरताको अभावका कारण जनतामा राजनीति प्रति विश्वास घटेको छ। आर्थिक रूपमा बेरोजगारी, मुद्रास्फीति, तथा उत्पादनमुखी अर्थतन्त्रको अभावले देशलाई गम्भीर संकटतर्फ डोर्‍याइरहेको छ। जनताकाे बामपन्थी शक्तिप्रति पनि मोहभंग हुन थालेका छन् । यस्तो स्थितिमा वाम एकता किन आवश्यक छ? पहिलो, जनतामा नयाँ राजनीतिक विकल्पको आवश्यकता छ। जनताले पुराना पार्टीप्रति विश्वास गुमाउँदै छन् र नयाँ शक्ति खोज्दै छन्। दोस्रो, सशक्त जनप्रतिनिधित्वका लागि—विभाजित वामपन्थी दलहरू कमजोर चुनावी नतिजा ल्याइरहेका छन्, जसले प्रतिगमनकारी शक्तिहरूलाई फाइदा पुर्‍याइरहेको छ। तेस्रो, सैद्धान्तिक स्पष्टताका लागि—एउटै मंचमा बहस गरेर स्पष्ट राजनीतिक र विकासको रणनीति बनाउन सकिन्छ। तर यस्तो वाम एकता केवल चुनावी तालमेलमा सीमित हुनु हुँदैन। दीर्घकालीन रणनीति, वैचारिक स्पष्टता र राजनीतिक प्रशिक्षण अत्यावश्यक छ। नेताहरूले सैद्धान्तिक अनुशासन पालना गर्नुपर्छ। गुटबन्दी र अवसरवादी प्रवृत्तिलाई अन्त्य गरेर, लोकतान्त्रिक मूल्य र प्रक्रियालाई अंगाल्नु आवश्यक छ। समाजको सबै वर्ग—श्रमिक, किसान, महिला, दलित, आदिवासी, युवा—को हितमा कार्यक्रम ल्याउनु आवश्यक छ। युवालाई आकर्षित गर्ने विचार, संगठन र नेतृत्व विकासको योजना आवश्यक छ । नेपालको कम्युनिष्ट आन्दोलन केवल राजनीतिक सत्ता प्राप्तिको यात्रा मात्र थिएन, यो समाज रूपान्तरणको आन्दोलन पनि थियो। वर्गीय विभेद, जातीय उत्पीडन, लैंगिक असमानता, क्षेत्रीय पछौटेपन जस्ता सामाजिक मुद्दाहरूमा वाम आन्दोलनको भूमिका निर्णायक रह्यो। यस आन्दोलनले नेपालमा वर्गीय चेतना बढायो। मजदुर, किसान, शिक्षक, स्वास्थ्यकर्मी आदिलाई संगठित गर्दै, उनीहरूका अधिकारको लागि आन्दोलन गर्‍यो। नेपाली इतिहासमा पहिलोपटक ‘श्रमिकको सरकार’ भन्ने भाषाशैली एमालेका सरकारहरूमार्फत परिचित भयो। न्यूनतम ज्याला वृद्धि, श्रमिक हकहितका कानुन निर्माण, ट्रेड युनियन सुदृढीकरण, कृषिमा जमिनको जोताहालाई जग्गा स्वामित्व दिलाउने नीतिहरू ल्याइए । कम्युनिष्ट आन्दोलनले जातीय पहिचानको सवाललाई राजनीतिक एजेण्डा बनायो। जनयुद्धको समयमा महिला सहभागिता लगभग ४०% भन्दा बढी थियो। थारू, मगर, लिम्बु, तामाङ, दलित समुदायहरूको राजनीतिक चेतना उच्च बन्यो। लैंगिक समानताको सवालमा महिलालाई नेतृत्वमा ल्याउने प्रयासहरू भएका थिए। उदाहरणका लागि, माओवादी आन्दोलनमा महिला कमान्डरहरूको संख्या उल्लेखनीय थियो । १९९० को दशकमा विश्वविद्यालय, क्याम्पस र शैक्षिक क्षेत्रका युवाहरू कम्युनिष्ट विचारधाराप्रति आकर्षित भए। जनयुद्धको समयमा हजारौं शिक्षित युवाहरू ग्रामीण इलाकामा गएर ‘सामाजिक रूपान्तरणको मिशन’ लिए। तर, यिनै युवाहरू पछिल्ला वर्षमा राजनीतिप्रति मोहभंग भएर वैदेशिक रोजगारीतर्फ गएका छन्। त्यसैले, यो आन्दोलनको सामाजिक आधार क्रमश: कमजोर हुँदै गइरहेको देखिन्छ । नेपालको कम्युनिष्ट आन्दोलन केवल आन्तरिक घटनाबाट प्रभावित छैन। विश्वका प्रमुख कम्युनिष्ट आन्दोलनहरू — चीनको माओवादी क्रान्ति, सोभियत संघको बोल्शेभिक क्रान्ति, भारतको नक्सलवादी आन्दोलन — नेपालका वामपन्थीहरूमा गहिरो प्रभाव परेको छ। एमाले धारले सामूहिक नेतृत्व, संसदीय सहभागिता र उदार समाजवादी मार्ग अँगालेको छ, जसमा सोभियत शैलीको प्रभाव छ। माओवादी धारले माओको सैद्धान्तिक लाइन — सशस्त्र विद्रोह, जनसत्ता, नवजनवादी क्रान्तिलाई अपनायो। भारतमा वामपन्थी आन्दोलनसँग नेपालका वामपन्थीहरूका ऐतिहासिक सम्बन्ध छन्। चीनसँगको सम्बन्धमा, विशेषतः २०६२/६३ को आन्दोलनपछि माओवादी र चीनबीचको कूटनीतिक संवाद महत्वपूर्ण बन्यो । नेपालको वामपन्थी सफलताप्रति पश्चिमी मुलुकहरूले विशेष ध्यान दिएको पाइन्छ। विशेष गरी जनयुद्धको समयमा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा नेपालको स्थानबारे बहस भएको थियो। अमेरिका, युरोपेली संघ लगायतका देशहरूले माओवादी आन्दोलनलाई ‘आतंककारी’ सूचीमा राखेका थिए, जुन पछि शान्ति प्रक्रियामा आएका कारण हटाइएको थियो। यसले देखाउँछ कि नेपालको कम्युनिष्ट आन्दोलन केवल आन्तरिक संघर्ष मात्र होइन, अन्तर्राष्ट्रिय भू-राजनीतिक समीकरणसँग पनि सम्बन्धित थियो । आजको राजनीतिक परिदृश्यमा वाम शक्तिहरू तीनदेखि चार भागमा विभाजित छन् — नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा, नेकपा (माओवादी केन्द्र) प्रचण्डको नेतृत्वमा, नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपालको नेतृत्वमा, र विप्लव नेतृत्वको नेकपा, जुन भूमिगत अवस्थाबाट बाहिर आएपनि संगठित शक्ति बन्न सकेको छैन। यी पार्टीहरूको विचार, रणनीति र कार्यशैलीमा आन्तरिक भिन्नता रहँदै आएको छ। एमालेले संसदीय समाजवाद र राष्ट्रवादलाई जोड दिएको छ, जसमा मध्यमार्गी राष्ट्रियताको स्वरूप देखिन्छ। माओवादी केन्द्रले अझै क्रान्तिकारी सुधारवाद र वर्ग संघर्षको एजेण्डा बोकेको छ, यद्यपि व्यवहारमा सत्तासँग सम्झौता गर्दै आएको छ। एकीकृत समाजवादी बहुलवादी समाजवादको धारणासहित सन्तुलनकारी भूमिका निर्वाह गर्ने प्रयासमा छ। यी सबैको विचमा विचारगत मतभेद, नेताहरूबीचको अविश्वास, र सांगठनिक स्वार्थले गर्दा वाम आन्दोलन कमजोर हुँदै गएको छ। यसको समाधानका लागि के गर्न सकिन्छ? वाम एकताका लागि पहिला सैद्धान्तिक सहमति अपरिहार्य छ। सबै वाम घटकहरूले विचार, मार्ग, रणनीति र कार्यक्रमको साझा न्यूनतम दस्तावेज तयार गर्नुपर्छ। ‘पुनः क्रान्ति या सुधार’ भन्ने बहसको सट्टा सामाजिक न्याय, आर्थिक समानता र समावेशी विकासमा केन्द्रित दृष्टिकोण आवश्यक छ। सांगठनिक अनुशासन र आन्तरिक लोकतन्त्रको अभ्यास बलियो बनाइनुपर्छ। गुटबन्दी, अवसरवाद र नेतावादी प्रवृत्तिहरूको अन्त्य बिना जनताको विश्वास जित्न सकिन्न। जनमुखी कार्यक्रम, श्रमिक-किसान-विद्यार्थी-महिला-दलित-आदिवासीको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने नीतिहरू निर्माण गर्नुपर्छ। वाम आन्दोलनले फेरि समाजसँग प्रत्यक्ष संवाद गर्न थाल्नुपर्छ। राजनीतिक भाषाशैली, संगठनको संरचना र कार्यशैलीलाई समय सापेक्ष र जनमुखी बनाउनु आवश्यक छ। नेपालको राजनीतिक संक्रमण अझै समाप्त भइसकेको छैन। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता मुद्दाहरू कार्यान्वयनको चरणमा छन्। यस्तो अवस्थामा वाम शक्तिहरूले साझा मोर्चा बनाउन नसकेमा देश पुनः अस्थिरतातर्फ जान सक्छ। त्यसैले, वाम एकता केवल राजनीतिक गणित होइन, राष्ट्रको दीर्घकालीन स्थायित्व, विकास र जनताको विश्वास पुनःस्थापना गर्न आवश्यक ऐतिहासिक कार्यभार हो। नेपालको कम्युनिष्ट आन्दोलनले देशलाई मुलुककै आधुनिक इतिहासको आधारशिला बनाउने योगदान दिएको छ। तर आजको सन्दर्भमा यो आन्दोलन दिशाहीन देखिन थालेको छ। निरन्तरको विभाजन, सत्ता मोह, वैचारिक अस्पष्टता र जनताबाट टाढिँदै गएको व्यवहारले गर्दा आन्दोलन संकटमा छ। यस्तो अवस्थामा, वाम एकता केवल दलहरूबीचको समायोजन होइन, यो राष्ट्रको हितका लागि आवश्यक राष्ट्रिय कार्यभार हो। देशमा सामाजिक न्याय, समानता, समृद्धि र स्थायित्व ल्याउने सम्भावना अझै पनि वाम शक्तिसँग छ, तर त्यसका लागि पुनर्जागरण आवश्यक छ। संगठनलाई विचारभन्दा माथि राख्ने, सत्तालाई सिद्धान्तभन्दा अगाडि राख्ने प्रवृत्तिलाई पराजित नगरेसम्म नयाँ युगको सुरुवात सम्भव छैन। “इतिहास सधैं बलियो पक्षको साथ रहँदैन — सत्य, प्रतिबद्धता, र जनताको पक्षमा उभिन सक्नेहरू नै दीर्घकालीन विजेता बन्छन्।”

फतुवा विजयपुर भुक्तानी रोकिएको विवाद, कानुनी प्रक्रिया पूर्णरूपमा अपुराे सप्लायरकाे दावी कानुन विपरीत

रौतहट ।। कानुन प्रकृया नै मिचि अवैधानीक रूपमा भुक्तानीकाे लागि पेश गरिएकाे फाइल कानुन अनुसार भुक्तानी गर्न नमेलने भएकै कारण भुक्तनी नहुदाँ मिथ्या अाराेप लगाएकाे फतुवा विजयपुर नरपालिकाका लेखा प्रमुख कामेश्वर सहनीले बताएका छन् । फतुवा विजयपुर नगरपालिकामा टावर लाइट जडान कार्यको भुक्तानी रोकेको विषयलाई लिएर उठेको विवादमा प्रतिकृया जनाउदै लेखा प्रमुख सहनिले सप्लायर ललित श्रीवास्तवले ३० प्रतिशत कमिशन नपाएको कारण देखाउँदै नगरपालिकाले भुक्तानी रोकिएको आरोप लगाए पनि सो आरोपको सत्यता नरहेको स्पष्ट पारेका छन्।

श्रीवास्तवका अनुसार, सबै कागजात दुरुस्त रहेर पनि करिब छ महिनादेखि आफ्नो भुक्तानी रोकिँदा आफू अन्यायमा परेको दाबी गरेका थिए। तर नगरपालिकाका लेखा प्रमुख कामेश्वर सहनीले भने सो आरोप पूर्णतः निराधार भएको बताएका छन्।

उनका अनुसार, करिब २० लाख रुपैयाँ बराबरको योजना भएकाले सो योजनाको विज्ञापन सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) मार्फत प्रकाशन गर्नुपर्ने, अनलाइन टेन्डर प्रक्रिया पूरा गर्नुपर्ने र आपूर्तिको सामग्री पालिकामा दाखिला गर्नुपर्ने कानुनी प्रावधान रहेकोमा सम्बन्धित फर्मले यी सम्पूर्ण प्रक्रिया पूरा नगरेकाले भुक्तानी हुन नसकेको हो।

सहनीले भने, “कुन कर्मचारी वा जनप्रतिनिधिको मिलोमतोमा सो योजना गोप्य तरिकाले अघि बढाइएको हो वा होइन भन्ने बारेमा मलाई जानकारी छैन। तर, नियमविपरीत आर्थिक लाभमा परेर कुनै पनि सर्तमा भुक्तानी गर्न नहुने भएकाले नै भुक्तानी रोकिएको हो।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत यादव, लेखापाल कामेश्वर सहनी, इन्जिनियर मो. फिरोज आलम र जिन्सी शाखाका हरेन्द्र यादव विरुद्ध श्रीवास्तवले लगाएको आरोपले भ्रम सिर्जना गरे पनि लेखा प्रमुखले प्रष्ट पारेपछि विवादको मूल कारण कानुनी प्रक्रिया अपूरा रहेको पुष्टि भएको छ।

यसैबीच, नगरपालिकाका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “यदि सम्पूर्ण प्रक्रिया कानुन अनुसार पूरा गरिएको भए भुक्तानी रोकिने कुनै कारण थिएन। भुक्तानी गर्दा योजना संग संबंधित कागजात र प्रक्रिया हेर्नू पर्ने हो र सो मा त्रुटि रहेकोले कुनै पनि कर्मचारी कसैको ब्यक्तिगत स्वार्थले आफ्नो जागिर धरापमा पार्ने काम नगर्ने उनको भनाइ रहेको छ । तसर्थ यस सम्बन्धमा संबंधित निकायले आवस्यक छानबिन गर्नु आवस्यक रहेको देखिन्छ ।

रेशमलाई सम्झिँदै रञ्जिता, ‘राजनीतिक दूरी बढेपनि सम्बन्धको आत्मीयता मेटिँदैन’

काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । पार्टीका संरक्षक तथा उनका श्रीमान रेशमलाल चौधरीले अर्को दल दर्ता गर्ने हल्लापछि उनले फेसबुकमा स्टाटस लेखेर राजनीतिमा दूरी ल्याए पनि सम्बन्धको आत्मीयता कहिले नमेटिने बताएकी छन्।
‘मुटु ,यो फोटो ठीक छ’ भन्ने आवाज आज पनि कानमा गुन्जिरहेछ। राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मियता कहिल्यै मेटिँदैन’, उनले भनेकी छन् ।
बिहीबार चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । विगत एक वर्षदेखि रेशम र रञ्जिताबीच पार्टीमा विवाद हुँदा अहिले पार्टी नै विभाजनको अवस्थामा पुगेको हो ।
यस बीचमा जनमत पार्टीसँग एकता गर्ने भनिए पनि केही विवादका कारण त्यो पनि हुन सकेको छैन । रञ्जिता रेशमकी पहिलो पत्नी हुन् भने दोस्रो पत्नी आशा चौधरी हुन् ।

कलैयामा मोटरसाइकल चोरको बिगबिगीले स्थानीय त्रसित

0

बारा ।। कलैया बजार क्षेत्रमा पछिल्लो समयमा चोरीका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नजिकै रहेको संवेदनशील क्षेत्रबाट समेत सरकारी मोटरसाइकल चोरी भएको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
कलैया उपमहानगरपालिका कार्यालयको नाममा दर्ता भएको ना.१ व ३५६५ नम्बरको बजाज पल्सर १५० टिडि मोटरसाइकल गत भाद्र १२ गते राति करिब ९:३५ बजे चोरी भएको हो। उक्त मोटरसाइकल उपमहानगरपालिका वडा नं. १ पानिटंकी एरियास्थित ऐन सेल सेन्टर अफिस नजिक रहेको गल्लीमा पार्किङ्ग गरी राखिएको थियो।
मोटरसाइकल रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि राखिएको थियो भने चोरी भएको स्थान प्रहरी कार्यालयबाट केही मिनेटको दूरीमै पर्छ।
सदरमुकामको यस्तो संवेदनशील स्थानबाट सरकारी सम्पत्ति चोरी हुनुले प्रशासनको गस्ती र सुरक्षा सतर्कतामाथि गम्भीर शंका उत्पन्न गरेको स्थानीयवासीहरू बताउँछन्। उनीहरूको भनाइमा, पछिल्लो समय कलैया बजार क्षेत्रमा चोरी, लुटपाट तथा आपराधिक क्रियाकलाप बढ्दै जाँदा आम नागरिकहरू असुरक्षित महसुस गरिरहेका छन्।
स्थानीयवासीको आक्रोश
स्थानीयले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाउँदै चोरहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्। “जिल्ला प्रहरी कार्यालयकै नाकामुनिबाट सरकारी मोटरसाइकल चोरी हुनु लाजमर्दो कुरा हो,” एक स्थानीयले भने, “यदि प्रहरीको आँखामुनिबाटै यस्तो घटना हुन्छ भने सर्वसाधारण कसरी सुरक्षित रहन सक्छन् ?”
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय, बाराका अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए पनि चोरी भएको यतिका दिन बित्दा समेत कुनै ठोस सुराक फेला परेको छैन। प्रहरीले निगरानी र खोजी कार्यलाई थप सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ।
तर घटनाको लामो समय बित्दासमेत नतिजा नआउँदा प्रहरीको कार्यक्षमता र गस्ती प्रणालीप्रति सर्वसाधारणमा गम्भीर शंका उत्पन्न भएको छ।
सदरमुकाममै बढ्दो आपराधिक गतिविधिले चोरहरूले प्रहरीको “नाकमुनि नै चुनौती दिइरहेका छन्” भन्ने जनधारणा बनाएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेट

0

राैतहट ।। जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच आज बाराको कलैयामा शिष्टाचार भेटघाट भएको छ ।
भेटका क्रममा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा विस्तृत कुराकानी भएको बुझिएको छ ।
साथै, मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिन लागेको विश्वासको मत सम्बन्धमा समेत छलफल भएको स्रोतले जनाएको छ । उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन् ।

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

प्रेमचन्द्र झा
नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ।
‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ।
पुराणहरूमा सूर्य उपासना र षष्ठी देवीको महिमा विस्तारले उल्लेख गरिएको छ। रामायणमा समेत श्रीराम र सीताले अयोध्या फर्किएपछि राज्यको कल्याणका लागि सूर्यदेवको आराधना गरेको प्रसङ्ग पाइन्छ। लोककथाअनुसार राजा प्रियव्रत र रानी मालिनीका सन्तान नहुँदा षष्ठी देवीको आराधनाले उनीहरूलाई सन्तान प्राप्त भयो, त्यसैबेला यो व्रतको परम्परा सुरु भएको मानिन्छ।
छठ व्रतको मुख्य उद्देश्य सूर्यदेव र छठी मइयाको आराधना गर्दै परिवारमा सुख, समृद्धि, दीर्घायु र स्वास्थ्यको कामना गर्नु हो। यस व्रतले श्रद्धालुलाई आत्म–संयम, शुद्धता र अनुशासनको बाटोमा लग्छ। व्रतालुहरू चार दिनसम्म अत्यन्त पवित्रता र कठोर नियमपालनसहित उपवास बस्छन्।
यो पर्व नेपालमा विशेषगरी मधेस प्रदेशमा गहिरो रूपमा प्रभाव जमाएको छ। जनकपुर, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरीका घाटहरूमा यो पर्वले जीवन्त रूप पाउँछ। नदी, पोखरी र तालका किनारमा हजारौँ श्रद्धालुहरूको भीड लाग्छ, लोकगीत गुन्जिन्छन्, दियोहरू बल्छन् र वातावरण भक्ति र सौन्दर्यले भरिन्छ।
छठ केवल धार्मिक कर्मकाण्ड होइन; यो सामाजिक एकताको पनि प्रतीक हो। यस पर्वमा महिलाहरू प्रमुख भूमिकामा रहन्छन्। परिवारका सुख–समृद्धिका लागि उनीहरूले कठोर उपवास र संयम अपनाउँछन्। यसरी महिलाको श्रद्धा र धैर्यले सम्पूर्ण परिवारमा आस्था र अनुशासनको वातावरण बनाउँछ। व्रतालुलाई ‘पवनैतिन’ भनिन्छ, र उनीहरूको तपस्या नै यो पर्वको आत्मा हो।
चार दिनसम्म मनाइने यो पर्व नहाय–खायबाट सुरु हुन्छ। पहिलो दिन बिहानै स्नान गरी घर र आँगन सफा गरिन्छ। परवैतिनले एकपटक मात्र शुद्ध भोजन ग्रहण गर्छिन्। दोस्रो दिन खरना हुन्छ, जसमा दिनभर उपवासपछि साँझ सूर्यास्तको बेला दूध, गुड र चामलले बनेको खीर र रोटी तयार गरी यस पर्वमा पहिलो नैवेद सहित आराधना गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ‘संध्या अर्घ्य’ को विशेष पूजा हुन्छ। महिलाहरू पानीमा उभिएर सूर्यलाई दूध र जल अर्पण गर्छन्। घाटहरू दियो, फूल र फलफूलले सजाइएका हुन्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत तोडिन्छ। यो क्षण परिवारका सबै सदस्यहरूका लागि अपूर्व उल्लास र आशीर्वादको क्षण हुन्छ।
छठ पर्वको तयारीमा घरको सफाइदेखि घाट निर्माणसम्म सबै कार्य सामूहिक रूपमा गरिन्छ। बाँसका डोका, सूप, टोकरी, फलफूल, उखु, नारिवल, ठेकुवा, भुसुवा आदिको तयारीमा गाउँभर रौनक छाउँछ। महिलाहरू प्रायः पहेंलो वा सुन्तला रङको साडीमा सिँगारिन्छन्, जसले पवित्रता र सूर्यको तेज दुवै जनाउँछ।
मधेसका गल्ली–गल्लीमा यस समयमा लोकगीत र भजन गुन्जिन्छन् — “केरवा जे फरेली घउदे से” ” अरे गंगा जल में”, “उठल भोर भइल भिनसरिया” जस्ता गीतहरूले भक्ति र भावना दुवैलाई एकसाथ जागृत गर्छन्। गीत, संगीत र भजनमा नाच्दै, गाउदै श्रद्धालुहरूले छठ मइयाको आराधना गर्छन्।
छठले पर्यावरणीय सन्देश पनि बोकेको छ। सूर्य, जल, माटो र फलफूलको पूजा गरेर यस पर्वले प्रकृतिप्रति सम्मान व्यक्त गर्छ। घाटहरू सफा गर्ने परम्पराले नदी र पोखरीको संरक्षणमा योगदान पुर्‍याउँछ। यस अर्थमा छठ केवल धार्मिक होइन, पर्यावरण–मित्र पर्व पनि हो।
अहिले छठ पूजा मधेसमा सीमित छैन। काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान र नेपालगञ्जमा समेत भव्य रूपमा मनाइन्छ। कृत्रिम पोखरीहरू र घाटहरू निर्माण गरी श्रद्धालुहरूलाई पूजा गर्न सहज बनाइन्छ। यसले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको छ। हिन्दु, मुस्लिम, बुद्ध, किराँत समुदायका मानिसहरू समेत सहभागी भएर यो पर्वलाई सामूहिक उत्सवको रूप दिन्छन्।
छठ पर्व
को मर्म आत्म–संयम, श्रद्धा र कृतज्ञताको अभ्यासमा निहित छ। सूर्यदेव केवल आकाशका तेजका प्रतीक होइनन्, ज्ञान, सत्य र जीवनका पनि दाता हुन्। व्रतालुले आफ्नो शरीर र आत्मालाई शुद्ध पार्दै सूर्यप्रति धन्यवाद ज्ञापन गर्छन् — किनभने सूर्य बिना जीवन असम्भव छ।
नेपालका मधेसका घाटहरूमा जब अस्ताउँदो सूर्यको सुनौलो किरण जलमा झिलमिलाउँछ, हजारौँ दियोहरू एकैसाथ बल्छन् र लोकगीतको मधुर स्वर फैलिन्छ, त्यतिबेला छठको दृश्य केवल आस्थाको नभई सौन्दर्यको पनि प्रतीक बन्छ। त्यही क्षणमा आस्था र प्रकृति एकअर्कामा विलय हुन्छन्।
सूर्य षष्ठी व्रतले हामीलाई सिकाउँछ — जीवनमा अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मान बिना वास्तविक सुख सम्भव छैन। यो पर्वले परिवारमा प्रेम, समाजमा सहकार्य र राष्ट्रमा एकताको भाव जगाउँछ।
छठ अब केवल मधेसको पर्व होइन, सम्पूर्ण नेपालीहरूको साझा आस्था बनेको छ। यसले धर्म, संस्कृति र सहअस्तित्वको अद्भुत मिसाल प्रस्तुत गरेको छ। सूर्यका किरणजस्तै यो पर्वले देशभर उज्यालो फैलाइरहेको छ — श्रद्धा, संयम र कृतज्ञताको उज्यालो।
साँचो अर्थमा छठ पर्व त्यो क्षण हो जब सूर्य आकाशमा मात्र होइन, मानिसको मनमा पनि उदाउँछ।

नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

प्रेमचन्द्र झा
नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो। हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ। नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ। जब व्यक्ति, परिवार, समाज, संस्था, र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ।
तर अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ। मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन्। राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, कृषि, सेवा सबै क्षेत्रमा अनैतिकता बढ्दो छ। यस्तो अवस्थामा नैतिकता के हो, कसरी हराउँदै गइरहेको छ, र कसरी पुनःस्थापना गर्न सकिन्छ भन्ने बारे गहिरो रूपमा बुझ्नु आजको आवश्यकता हो ।
नैतिकता भनेको आत्मभान हो—आफ्नो व्यवहार, निर्णय र सोचमा के सही हो, के गलत हो भन्ने छुट्याउने चेतना। नैतिकता कुनै कानून होइन, तर यसले कानुनभन्दा गहिरो असर पार्छ। जसको मनभित्र नैतिकता हुन्छ, उसले कसैले नहेर्दा पनि राम्रो काम गर्छ, झूट बोल्दैन, चोरी गर्दैन, अरूलाई दुख नदिई आफ्नो काम गर्छ। नैतिकता जीवनका धेरै पक्षसँग जोडिएको हुन्छ—जस्तै सत्यता, ईमानदारी, सहिष्णुता, कर्तव्यबोध, करुणा, अनुशासन, जिम्मेवारी, आत्मसंयम, सेवा भावना, र पारदर्शिता। जब यी गुणहरू व्यक्ति र संस्थामा हुन्छन्, तब नै समाज न्यायपूर्ण र सुरक्षित हुन्छ।
नेपालमा सबैभन्दा बढी नैतिकताको प्रश्न राजनीति क्षेत्रमा उठाइन्छ। नेताहरूले चुनावमा जनतालाई अनेक वाचा गर्छन्—तर सरकार बनेपछि ती वाचा बिर्सिन्छन्। पदको दुरुपयोग, भ्रष्टाचार, आपसी लडाइँ, भागबन्डा र पहुँचको राजनीति आज नेपाली राजनीतिमा सामान्य बनिसकेको छ। कतिपय नेताहरू जनताको सेवा गर्नुको सट्टा सत्तामा टिकिरहन, आफन्त र कार्यकर्तालाई लाभ दिन, र आफू धनी बन्न राजनीति गर्छन्। दलहरूले घोषणा पत्रमा जे लेख्छन्, व्यवहारमा त्यो देखिँदैन। संसद जस्तो उच्च निकायमा पनि विचारभन्दा शक्ति प्रदर्शन बढी देखिन्छ ।
राजनीतिमा नैतिकता भन्नाले सत्ताको लोभ नलिने, जनतासँग गरेको वाचा पुरा गर्ने, सार्वजनिक सम्पत्तिलाई आफ्नो सम्पत्ति नठान्ने, पारदर्शी निर्णय गर्ने, भ्रष्टाचार नगर्ने, र राष्ट्रहितलाई प्राथमिकता दिने—यिनै हुन् राजनीतिक नैतिकताको मूल तत्व। जब नेताहरू नैतिक हुन्छन्, तब मात्र जनताले पनि राजनीतिलाई सम्मान गर्न थाल्छन् ।
सरकारी कर्मचारीहरूलाई प्रायः “जनताको सेवक” भनिन्छ। तर आजको यथार्थ त्यो भन्दा धेरै टाढा छ। सरकारी कार्यालयमा काम गराउन जानु भनेको घण्टौँ कुर्नु, फाइल खोज्नु, सिफारिस ल्याउनु, र कहिलेकाहीं घूस खुवाउनु भन्ने बुझिन्छ। धेरैजसो कर्मचारीहरू काममा ढिलो पुग्छन्, समयमै फाइल नहेर्छन्, सेवाग्राहीलाई हेलचेक्र्याउँ गर्छन्। कतिपयले त ठूला नेतासँगको सम्बन्ध देखाएर गैरकानुनी काम गरिदिन्छन्। सरकारी योजना, अनुदान, ठेक्कापट्टा, भर्ना, सरुवा आदि सबैमा पारदर्शिता नभएको गुनासो सर्वत्र सुनिन्छ। राष्ट्रसेवक कर्मचारीहरूमा कार्यक्षमता, समयपालन, निष्पक्षता, उत्तरदायित्व, सेवा भावना, इमानदारी, र कर्तव्यप्रति निष्ठा हुन जरुरी छ। जब कर्मचारीहरू आफ्नो कामलाई धर्म सम्झेर गर्छन्, तब जनताले पनि सरकारी सेवा प्रति भरोसा राख्न थाल्छन् ।
महिला समाजको आधा हिस्सा हुन्। उनीहरू घर, समाज र राष्ट्रको विकासमा समान रूपमा महत्वपूर्ण छन्। तर लामो समयसम्म महिलालाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको इतिहास छ। पछिल्ला वर्षहरूमा शिक्षा, रोजगार, राजनीति, र कानुनी अधिकारमा प्रगति भए पनि व्यवहारिक रूपमा महिला अझै पनि धेरै समस्यामा छन्। केही महिला सशक्त भए पनि अवसरको दुरुपयोग, पहुँच र राजनैतिक संलग्नताका कारण अनैतिक गतिविधिमा पनि संलग्न भएको पाइन्छ। कतिपय महिलाले योजनाको नाममा लाभ लिने तर काम नगर्ने, संगठित रूपमा दबाब दिने, पदको दुरुपयोग गर्ने गरेका उदाहरण पनि छन्। महिलामा आत्मसम्मान, पारिवारिक जिम्मेवारी, सामाजिक न्यायमा विश्वास, ईमानदारी, र सहिष्णुता हुन जरुरी छ। महिला सशक्तीकरण केवल कानुनी अधिकारले मात्र होइन, नैतिक जिम्मेवारीले पनि पूर्ण हुन्छ।
विद्यार्थीहरू राष्ट्रको भविष्य हुन् भन्ने भनाइ सबैले सुनिसकेका छन्। तर आजका विद्यार्थीहरू राजनीतिक दलका समर्थक भएर आफू पढ्न भन्दा बढी अरूलाई दबाब दिने काममा लागेका छन्। शिक्षण संस्था भित्र हड्ताल, तोडफोड, गुरु-शिष्य सम्बन्धमा गिरावट, नकल, अनुशासनहीनता आदिले नैतिक मूल्य खस्किरहेको देखिन्छ। शिक्षा भनेको केवल किताबको ज्ञान होइन, जीवनको आचरण हो। विद्यार्थीमा समयको मूल्य बुझ्ने, इमानदारीपूर्वक अध्ययन गर्ने, शिक्षक र अभिभावकको सम्मान गर्ने, विचार र व्यवहारमा सन्तुलन राख्ने क्षमता विकास हुनु आवश्यक छ।
नेपालको ठूलो जनसंख्या कृषि पेशामा निर्भर छ। किसानहरू देशका मेरुदण्ड हुन् भन्ने कुरा सबैले भन्छन्, तर उनीहरूको अवस्था भने दिनदिनै कमजोर हुँदै गइरहेको छ। सरकारले घोषणा गर्ने अनुदान, सहुलियत ऋण, बीउबिजन र मलखाद समयमै किसानसम्म पुग्दैन। कतिपय अवस्थामा किसानहरू आफू उत्पादन गर्नुभन्दा पनि विदेशबाट आएको वस्तु उपभोग गर्न बाध्य छन्। केही किसानले अनुदानको दुरुपयोग गर्ने, झूटा कागजात बनाउने, सहकारीमा अनियमितता गर्ने जस्ता व्यवहार पनि देखिन्छ। यस्तो प्रवृत्तिले सबै किसानको नाम बदनाम हुन्छ। अर्कातर्फ, सरकारको कमजोरी र बजार व्यवस्थापनको अभावले गर्दा पनि किसानहरू हतोत्साहित भएका छन्। किसानमा इमानदारी, सहयोगी भावना, पारदर्शिता र मिसावटविहीन उत्पादन गर्नु अत्यावश्यक हुन्छ।
व्यापारीहरू समाजका आर्थिक इञ्जिन हुन्। उनीहरूकै माध्यमबाट सामान, सेवा र उत्पादन जनतासम्म पुग्छ। तर आज नेपालमा व्यापारिक नैतिकता कमजोर हुँदै गएको छ। नाफा कमाउने लोभमा नापतौलमा बेइमानी, म्याद सकिएको सामान बेच्ने, गुणस्तरहीन उत्पादन, मिसावट, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, कर नतिर्ने, सरकारी अनुगमन छल्ने जस्ता कार्यहरू देखिन्छन्। व्यापार केवल मुनाफाका लागि होइन, समाजप्रतिको उत्तरदायित्वसहितको पेशा हो। ग्राहक ठगेर कमाएको पैसा दीर्घकालीन हुँदैन। व्यापारीमा सत्य र पारदर्शी कारोबार, गुणस्तरको सम्मान, करको पालन, ग्राहकको सम्मानजस्ता गुण आवश्यक छन्।
नेपालमा विभिन्न पेशा गर्ने व्यक्तिहरू—जसमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षकजस्ता सम्मानित व्यक्तिहरू छन्—तिनीहरूलाई समाजले ठूलो आदर गर्छ। तर हालका दिनमा यिनै पेशामा पनि नैतिकताको गिरावट देखिँदै गएको छ। डाक्टरहरूमा करुणा, संवेदनशीलता, समयको कदर, र बिरामीप्रतिको सहानुभूति अत्यावश्यक छ। इन्जिनियरहरूमा गुणस्तरीयता, पारदर्शिता, प्राविधिक इमानदारी, र राष्ट्रप्रतिको जिम्मेवारी जरुरी छ। पत्रकारहरूमा सत्य, निष्पक्षता, स्रोतको गोपनीयता, र जनताको हितमा काम गर्ने भावना हुनुपर्छ। शिक्षकहरूमा आत्मबल, ज्ञानको निष्ठा, विद्यार्थीप्रतिको माया, र साँचो गुरु बन्ने भावना अनिवार्य छ।
आजको युग सञ्चारको युग हो। मिडिया र सामाजिक संजालको हो ।आजको युग सञ्चारको युग हो। मिडिया र सामाजिक संजालको प्रभाव अहिलेको समाजमा अत्यन्त बलियो छ। सूचना, समाचार, विचार, बहस र चेतना जनतासम्म पुर्‍याउने काम यिनै माध्यमबाट हुन्छ। तर सूचना भन्दा अफवाह, सत्य भन्दा सनसनी, शिक्षाप्रद कुरा भन्दा विवादास्पद सामग्रीहरू बढी प्रस्तुत हुने क्रम बढेको छ। कुनै पनि विषयको पुष्टि नगरी समाचार बनाउने, वा सामाजिक संजालमा अफवाह फैलाउने काम बढ्दो छ। कतिपय मिडिया संस्थाहरू राजनीतिक स्वार्थमा काम गरिरहेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अरूको चरित्र हत्या गर्न, जातीय घृणा फैलाउन वा झूठो समाचार फैलाउन सक्रिय देखिन्छन्।
संचार माध्यम र सामाजिक सञ्जालमा सत्य, विवेक, शिष्टता, र सहनशीलता हुनु अत्यावश्यक छ। जसरी कागजको समाचार विश्वासिलो हुनुपर्छ, त्यसैगरी डिजिटल पोस्ट पनि साँचो, प्रमाणमा आधारित र समाज हितमा हुनुपर्छ। अरूको गोपनीयता, आत्मसम्मान, र सामाजिक सद्भावलाई असर पुर्‍याउने कुनै पनि सूचना अनैतिक हुन्छ। त्यसैले मिडिया र सामाजिक संजाल प्रयोगकर्ताले आफू जिम्मेवार नागरिक भएको प्रमाण दिनुपर्छ।
हाम्रो समाजको आधार भनेको नागरिक नै हो। हरेक नागरिकले आफू जहाँ छ, जस्तो छ, त्यहीँबाट नैतिक व्यवहार गर्न सुरु गरे भने समाज बदलिन धेरै समय लाग्दैन। सार्वजनिक ठाउँमा फोहोर नगर्नु, लाइनमा पालो पालना गर्नु, कर तिर्नु, झूट नबोल्नु, सवारी नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, छिमेकीसँग सहिष्णु व्यवहार गर्नु—यी सबै साधारण लाग्ने कामहरू नै हाम्रो नैतिकता हो।
कहिलेकाहीं हामी कानुन नलाग्ने ठाउँमा जानीजानी अनैतिक काम गर्छौं, जस्तो—पानी चोरेर सिंचाइ गर्नु, लोडसेडिङमा अनधिकृत लाइन जोड्नु, वा चाडपर्वमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नु। यस्ता व्यवहारले समाजको अनुशासन मात्र होइन, हाम्रो व्यक्तित्व पनि कमजोर पार्छ। नैतिक नागरिक बन्ने काम स्कूल, धर्म, समाज वा सरकारको मात्र जिम्मा होइन—व्यक्ति स्वयंको हो। सानैदेखि यो चेतना विकास गरे मात्रै दीर्घकालीन प्रभाव पर्छ।
नैतिकता समाजमा पुनःस्थापना गर्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ। पहिलो, हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य हुनुपर्छ, बाल्यकालदेखि नै मूल्य–आधारित शिक्षा दिनुपर्छ। विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, राम्रो मानिस बन्ने शिक्षामा जोड दिनुपर्छ। दोस्रो, शिक्षक, अभिभावक र समाजले केवल उपदेश होइन, व्यवहारबाट उदाहरण देखाउनुपर्छ। तेस्रो, धार्मिक र सांस्कृतिक संस्थाहरूले मानवता र सदाचारको प्रचार गर्नुपर्छ, अन्धविश्वास होइन। चौथो, सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सचेत बनाउने अभियानहरू चलाउनुपर्छ, जसले साइबर मर्यादा सिकाउँछ। पाँचौँ, भ्रष्टाचार, अनियमितता, र पदको दुरुपयोग गर्नेलाई जुनसुकै तहको व्यक्ति भए पनि कानुनी रूपमा कडा कारबाही गरिनुपर्छ। छठौँ, सामुदायिक तहमा नैतिक बहस, गोष्ठी, नाटक, चित्रकला, कविता, लेखनजस्ता सृजनात्मक कार्यक्रमबाट चेतना फैलाउनु पर्छ। अन्तिममा, नैतिक व्यक्ति, संस्था वा नेतृत्वलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्छ, जसले समाजमा राम्रोको प्रेरणा दिन्छ।
नैतिकता भन्नु केवल आदर्श होइन, व्यवहार हो। यो हाम्रै बोली, चालचलन, सोच, कर्म, सम्बन्ध र जिम्मेवारीमा झल्किन्छ। जब मानिसहरूमा नैतिकता बलियो हुन्छ, तब समाज स्वतः सुरक्षित, न्यायपूर्ण र शान्त हुन्छ। तर जब नैतिकता कमजोर हुन्छ, तब कानुनले मात्र सबै कुरा रोक्न सक्दैन।
नेपालमा आज जुन संकटहरू छन्—भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, सेवा प्रवाहमा कमजोरी, शिक्षा र स्वास्थ्यमा गिरावट, सामाजिक असहिष्णुता—यी सबैको मूल कारण नै नैतिकताको कमी हो। जब व्यक्ति, संस्था, र राज्य नैतिक बन्छ, तब कानुन, नीति, योजना र विकास स्वाभाविक रूपमा सफल हुन्छन्।
त्यसैले अब समय आएको छ कि हामी सबै—राजनीतिज्ञ, कर्मचारी, महिला, विद्यार्थी, किसान, व्यापारी, पेशाकर्मी, मिडिया, र सामान्य नागरिक—आ–आफ्नो ठाउँबाट नैतिकता अभ्यासमा लागौं। त्यसैबाट मात्रै साँचो परिवर्तन सम्भव हुन्छ। व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ। अनि मात्र राष्ट्र बन्न सक्छ—न्याययुक्त, समावेशी, स्वाभिमानी र समृद्ध।
( झा ,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पुर्व अध्यक्ष हुन ।

डा. मधुरेन्द्र यादवद्वारा छठ बर्तालुहरूलाई पूजासामग्री वितरण

राैतहट ।। हिन्दू समुदायको महान आस्था र श्रद्धासँग जोडिएको छठ पर्वको अवसरमा नेपाल तराई सिटी अस्पताल, सुकदेव चौकका सञ्चालक डा. मधुरेन्द्र यादवले माधवनारायन नगरपालिका–३, भेल्हीमा करिब एक सय पचास जना छठ बर्तालुहरूलाई पूजाका सामग्री वितरण गरेका छन्। डा. यादवले छठ पर्वमा आवश्यक पर्ने साडीको एक सेट, साठी धान, गहुँ लगायतका पूजासामग्री वितरण गर्दै शुभकामना व्यक्त गरेका थिए। उनले छठ पर्वले समाजमा धार्मिक एकता, संस्कार र सहअस्तित्वको सन्देश दिने बताउँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरे। कार्यक्रममा स्थानीय बर्तालु महिला, समुदायका अगुवा, समाजसेवी र नगरवासीहरूको उल्लेख्य उपस्थिती थियो। बर्तालुहरूले डा. यादवप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सहयोगले धार्मिक पर्वप्रतिको उत्साह अझ बढ्ने समाजसेवी रामसोगारथ यादवले बताउनु भयो । छठ पर्व विशेष गरी सूर्यदेव र छठमैयाको आराधनासँग सम्बन्धित हिन्दूहरूको प्रमुख पर्व हो, जसमा सूर्य उदय र अस्तका बेला नदी, पोखरी वा जलाशयमा स्नान गरी अर्घ्य अर्पण गरिन्छ।