रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिकामा चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ। इस्लामिक रिलिफ वर्ल्डवाइड (Islamic Relief Worldwide) को आर्थिक तथा प्राविधिक सहयोग र अभियान नेपाल (Campaign Nepal) को आयोजनामा पालिकाका विभिन्न वडाका ५३६ घरधुरीलाई हिउँदे राहत प्याकेज वितरण गरिएको हो।
गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का लक्षित परिवारलाई चिसोबाट बचाउन प्रति परिवार ६,४६० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ। वितरण गरिएका सामग्रीहरूमा उच्च गुणस्तरको फाइबर सिरक, पछ्यौरा (Showl), मोजा र म्याट (Foam) लगायतका न्यानो कपडाहरू रहेका छन्।
राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले विपद्को समयमा गैरसरकारी संस्थाहरूको सहयोग सराहनीय रहेको बताउनुभयो। उहाँले वास्तविक पीडित पहिचान गरी घरदैलोमै पुगेर न्यानो सामग्री वितरण गर्दा गरिब तथा विपन्न समुदायलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरू, इस्लामिक रिलिफ नेपालका तर्फबाट इच्छा थापा र प्रज्ञा भण्डारीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रमलाई व्यवस्थित बनाउन अभियान नेपालका प्रतिनिधिहरू शत्रुधन सिंह, मनिष ठाकुर, जितेन्द्र कुशवाहा, आकाश सिंह र पुष्पा यादव लगायतको समेतको उपस्थिति रहेका थिए ।
तराईमा बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला प्राप्त यी सामग्रीले विशेषगरी बालबालिका, सुत्केरी र वृद्धवृद्धाहरूलाई चिसोबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय बासिन्दाहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here