–उपेन्द्र झा भाँडोमा खसेको झिंगा जस्तै आफ्नो अस्तित्वको लागि चिन्तित समाजवादी पार्टी र राजपा “के गर्ने” र के नगर्ने दोधारमा फसेको छ । गुलामी पनि ईमान्दारीसाथ गर्न नसकेको समाजवादी पार्टी ओलीद्वारा सरकारबाट निकालिएको छ, त्यसरी नै राजपा सरकारमा सामेल हुने प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रण नजिक गएर पनि स्वीकार गर्न ढिलो गर्ने कारणहरू स्पष्ट भईरहेको छैन र के गर्ने भन्ने निर्णय पनि गर्न नसकेको कारणले पनि अस्तित्व संकटमा रहेको अनुमान गर्न कठीन छैन । संघर्षबाट थाकेर सत्तासँग गहिरो सम्बन्ध बनाएर यथास्थितिमा समर्पित समाजवादी पार्टी तथा राजपा मधेश मुद्धालाई व्यापारको माध्यम बनाएको छ । प्रचण्ड र ओलीसँग गहिरो सम्बन्ध राख्ने उपेन्द्र यादव सत्ताका लागि आत्मसमर्पण गर्दा ईमान्दारीपूर्वक कार्यकाल पूरा गर्नु पर्दथ्यो । ओलीतिर औला ठड्याएर अपमानजनक किसिमले सरकारबाट हटाएपछि पार्टीका कार्यकर्ता लगायत सिङ्गै मधेशलाई लज्जाबोध भएको छ । सत्ताबाट बहिर्गमन पछि समाजवादी पार्टी क्रान्तिकारी बन्न खोज्छ, तर अज्ञात भयले गति दिन चाहँदैन । लामो समय चलेको नाकाबन्दी आन्दोलनलाई बिना शर्त छोडेर भागेको उपेन्द्र यादव र राजेन्द्र महतो मधेशको नजरमा संदिग्ध बनेका थिए । सत्तासँग नजिकिदै गएको सन्देहलाई ०७४ को चुनावले पुष्टि ग¥यो । ओली कै असीम कृपाले राजेन्द्र महतो प्रतिनिधी सभामा प्रवेश पायो भने आन्दोलन छाडेर आएको उपेन्द्र यादव पनि आफ्नो अस्तित्व बचाउन सफल भयो । ओली कै कृपाले उपेन्द्र यादव सम्मान जनक अवस्थामा आए । यी भित्रका कुरा हुन् । यसबाट सामान्य जनता अवगत रहदैन । सामान्य जनतालाई कुकर्मको गतिविधी दिनु ठीक पनि होइन । एकसाथ कालो र सेतो दुई अनुहार लिएर सामनजस्यताका साथ हिड्नु सजिलो पनि छैन । धेरै मिहिनेत चाहिन्छ । यीनीहरू मिहिनेत गरेका पनि छन् । तर अचानक दुवै अनुहार, एकैसाथ अनावृत भएपछि यसलाई दुर्भाग्य नै भन्नु पर्छ । १२ पल्ट मन्त्री बनेका विजय गच्छदार १३ औं पल्ट जाने तयारीमा छन् । सौभाग्यको अर्को पाटामा दुर्भाग्य नै हुन्छ । समय सधै एकनाशको कहाँ हुन्छ ? विगतमा सरकारबाट समर्थन फिर्ता लिएपछि राजपा किंकत्र्तव्यविमुढ भएर बस्यो, सत्ताबाट बहिर्गमन पछि समाजवादीको पनि त्यही अवस्था छ । नयाँ शक्तिसँग एकीकरण पछि ठूलो भएको मदमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गुमाएका थिए । राजपासँग एकीकरण गर्न उपेन्द्र यादवलाई हीनताबोध भई रहेको थियो । राजपालाई उनी राजनीतिक पार्टीको रूपमा गन्दैनथ्यो । ६ जना सेयर होल्डरको संस्थाको रूपमा हेर्ने उपेन्द्र यादवले राजपासँग एकीकरण नगरेर ठूलो रजनीतिक अवसर गुमाएका छन् । सत्ताबाट वशिर्गमनपछि उपेन्द्र यादवको होश खुलेको छ र अहिले अब राजपासँगको एकीकरणको महत्व बुझेको छ । सरकारको समर्थन फिर्ता लिएर बसेको राजपा अहिले “वीनर खेलाडी” को रूपमा देखा परेको छ । उपेन्द्र यादवको सत्ता बहिर्गमनपछि राजपालाई कुनैपनि शर्तमा सरकारमा सामेल गर्ने प्रधानमनत्री केपी शर्मा ओलीको रणनीति छ भने उपेन्द्र यादव पनि राजपालाई आफ्नो पार्टीमा विलय गराउन आतुर छ । राजपाको माँगप्रति नरम बनेको प्रधानमन्त्री ओली आफ्नो आमन्त्रणलाई अस्वीकार गरे राजपाका कतिपय नेतालाई अंकुश समेत लगाउने भय पनि देखाएको छ । समाजवादी पार्टीसँग एकीकरण गर्ने तथा ओली सरकारमा सामेल हुने दोधार बाटोमा परेको राजपालाई अविलम्व निर्णय गर्न पनि कठीन भएको छ । समाजवादी पार्टीसँग राजपाको एकीकरण गर्नु मधेशको लागि उपलब्धिमूलक सन्देश हो । तर एकीकरणपछि मधेश आन्दोलनको कुनै संकेत नरहेकोले यस अवधिमा सरकारले नेताहरूलाई विभिन्न आरोप लगाएर चरित्र हत्या ग¥यो भने राजनीतिक भविष्य अन्धकारमय हुने भयले राजपालाई एकीकरणको दिशामा अगाडि बढ्न नदेला । उपेन्द्र यादव पनि सरकार विरोधी गतिविधी संचालन ग¥यो भने उनलाई पनि सरकारको थे्रट कायम छ । यही सिलसिलामा राजपाका नेताहरू भारतसँग “के गर्ने भन्नेबारे” राय सुझाव लिन दिल्ली पुगेको हल्ला छ । आत्मसमर्पण गर्ने पार्टीहरूको यही नतिजा हुन्छ । अहिले समाजवादी पार्टी र राजपा नचाहेर पनि सरकारको शिकन्जामा परेका छन् । अनुकूलतामा रमाउने यी दुई पार्टीहरू सरकारलाई नमानेर प्रतिकूल दिशामा जान हिम्मत गुमाएका छन् । दुई तिहाई नजिक रहेका केपी शर्मा ओलीको शक्तिशाली सरकार दुई वर्षको अवधीमा समस्याग्रस्त देशका लागि उपलब्धिमूलक कार्य गर्न नसकेका कारण यिनको लोकप्रियतामा ग्रहण लागेको छ । नेपाली जनता, देशको राजनीतिक परिस्थिति, विकास निर्माणको क्षेत्र, आदि सरकारको निकम्मापनलाई लामो समय झेल्न नसकी उकुस मुकुसमा परेका छन् । देशको समग्र समस्याग्रस्त क्षेत्र सरकारप्रति उदासीन भई वैकल्पिक मार्ग खोज्न विपरीत दिशामा उन्मुख भई रहेको अवस्था छ । यसलाई केपी शर्मा ओलीले महसूस गरी भर्खरै आफ्नो भाषणमा स्वीकार गरेको छ । यो शक्तिशाली सरकारको विकल्पमा जुनसुकै शक्तिलाई स्वीकार गर्ने परिस्थिति सृजना हुन लागेको परिपेक्षमा शक्तिकेन्द्रको चासो बढ्नु अस्वाभाविक लाग्दैन । फेरि एकपल्ट वैकल्पिक शक्ति निर्माणको परिस्थिति बन्न लागेकोले यसलाई नेतृत्व गर्ने समाजवादी पार्टी र राजपाको मिलनले हो । शक्तिकेन्द्रहरू पनि वर्तमान सरकारको विकल्प खोजेको छ । वैकल्पिक मार्गको नेतृत्व कमजोर अवस्थामा रहेको नेपाली कांग्रेस गर्न नसक्ने भएकोले नेतृत्वको अवसर मधेशी दललाई नै प्राप्त हुने कुरामा दुई मत देखिदैन । यसकारण पनि समाजवादी पार्टीसँग राजपाको एकीकरण अपरिहार्य बनेको छ । तर यस धरातलीय यथार्थलाई राजपाका नेताहरूले कसरी मूल्यांकन गर्छ, त्यसमा भर पर्छ । यही वैकल्पिक शक्तिको गठबन्धनमा अन्य विपक्षी शक्तिहरू संगठित भई वैकल्पिक मार्ग खोज्ने परिस्थितिले संकेत गरिरहेको छ । आन्दोलनसँग सम्बन्ध त्याग गर्ने समाजवादी पार्टी र राजपा सत्ता स्वाद चाखेर चरित्र परिवर्तन गरेको छ । सत्तासँग बस्दा जति लाभ छ, आन्दोलनमा अस्तित्व नै हराउने भयले ग्रसित लाभतिर बढि उन्मुख हुने यी दुई पार्टीहरू थाती राखेको अधिकार आन्दोलनको मशाल जलाउन अग्रसर होला । अग्रसर भयो भने इतिहास रच्छ, होइन भने अन्धकारमा विलीन हुन्छ । यी दुई पार्टीको निर्णय क्षमता कस्तो हुनेछ, हेर्न प्रतिक्षा गरौं ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here