रौतहट ।। रौतहटको मत्सरी दुर्गा मन्दिर र राजदेवी मन्दिरमा अहिले मेलाको रौनक छाएको छ । बडादसैँका बेला मेलाका लागि प्रख्यात रौतहट जिल्लाको दुर्गा भग्वती गाउँपालिकामा अवस्थित रहेका ऐतिहासिक र धार्मिक महत्व बोकेका दुर्गा मन्दिर र जिल्लाको राजेदेवी नगरपालिका स्थित राजदेवी मन्दिरमा लागेको मेलाले अहिले सबैलाई आकर्षित पारेको छ ।
मन्दिरमा हरेक वर्ष बडादसैँको सप्तमी देखी मेलामा दैनिक हजारौँ दर्शनार्थी आएर मेलाको दर्शन गर्नाका साथै सहभागिता जनाउने गरेको स्थानीयले बताए ।
राजदेवी मन्दिर परिसरमा श्रद्धालु भक्तजनले चढाएका घन्टहरूमध्ये विसं १९०२ असोज २६ गते तत्कालीन लेफ्टिनेन्ट मानध्वज कार्कीले चढाउनुभएको घन्ट अझै पनि छ । गौरदेखि करिब तीन किलोमिटरपूर्व बागमती नदीको छेउमा रहेको राजदेवी मन्दिर मल्लकालीन राजा प्रताप मल्लले सन् १६४९ मा स्थापना गरेको अभिलेख पाईन्छ । नवरात्रभर राजदेवी मन्दिर परिसरमा मेला नै लाग्ने गरेको स्थानियहरुले बताए ।
मत्सरी भगवती मन्दिर एक सय वर्ष पुरानो मानिन्छ । मन्दिरमा नवरात्रिभर स्थानीय तथा भारतीय भक्तजनको भिड लागनेको छ। यस मन्दिरमा नवरात्रभर भक्तजनहरुको घुइँचो लाग्ने भएकाले शान्ति–सुरक्षामा प्रहरीले ध्यान दिएको इलाका प्रहरी कार्यालय गंगा पिपराका एक प्रहरीले बताए । नवरात्रिको पहिलो दिन र सप्तमीको राति मन्दिरमा निशा पूजा गरिन्छ । त्यस दिन भक्तजनहरुको बढी घुइँचो लागेको थियो ।
गाउँपालिकाले मत्सरी दुर्गा मन्दिर र पिपरा दुर्गा मन्दिरमा QR स्क्यानर जडान गरेको हो। QR स्क्यानरमार्फत भक्तजनहरूले मन्दिरको उत्पत्ति, ऐतिहासिक महत्व र धार्मिक पृष्ठभूमि विश्वका १० भाषामा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
जिल्लाका विभिन्न स्थानमा दुर्गा पुजा समितिले देवी दुर्गाको मुर्ति स्थापना गरी विधिवत रुपमा पुजापाठ गर्दै आएका छन् । अहिले जिल्लाका शहरी तथा ग्रामिण भेगमा चहलपहल बढेको छ ।
रौतहटको मत्सरी दुर्गा मन्दिर र राजदेवी मन्दिरमा मेलाको रौनक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।