काठमाडौं ।। नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसकै अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ ।

शुक्रबार ललितपुरको भैंसेपाटीमा प्रहरीका एक उच्च अधिकारीले एक बच्चा बोकेकी महिलामाथि गरेको ज्यादतीले प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराकै धज्जी उडाएको छ । प्रहरीका जवानले नभई प्रहरीको एक जिम्मेवार इन्स्पेक्टरले एक बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गरेको दृष्यले प्रहरी संगठनको नारा एउटा र व्यवहार अर्को देखिएको स्पष्ट पार्छ । प्रहरी इन्सपेक्टरले बच्चा बोकेकी महिलालाई लाठीले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर अगाडि बिहीबार दिउँसो केही महिला जम्मा भएका थिए । एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर, उनले आफूलाई श्रीमती स्वीकार्न अस्वीर गरेको भन्दै सहयोगी लिएर उनको घर गएकी थिइन् । ती महिला चार महिनादेखि यसरी नै खत्रीको घर अगाडि ‘धर्ना’ दिइरहेकी स्थानीयले जानकारी दिएका छन् ।

घर बाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे । केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे । घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरुष प्रहरी पनि गएका थिए । प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो । नमानेपछि बल प्रयोग गर्‍यो ।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए । उनले एक महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ ।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको भिडियोले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको बताएका छन् । यता इन्स्पेक्टर पौडेलले पनि आफूले ती महिलामाथि लाठी प्रहार गरेको स्वीकारेका छन् ।

बच्चामाथि निर्घात रुपमा लाठी हानिएको भिडियो बाहिर आएपछि लिइएको प्रतिक्रियामा पौडेलले सामान्य रुपमा भने, ‘प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि ।’
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रान लगाउनु पर्ने स्पष्ट व्यवस्था छ ।

‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरीक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ । एसएसपी राईले भने महिलामाथि पौडेलले लाठी हानेको जानकारी आफूलाई नभएको तर, गल्ती भएको भए अवस्था बुझेर कारबाही गर्छु ।

प्रहरीले खत्रीको घरमा धर्ना दिनुपर्ने अवस्थामा रहेका महिलाको समस्या बुझेर न्याय दिलाउनका लागि आवश्यक पहल गर्नुपर्नेमा उल्टै कुटपिट गर्नु प्रहरीको गलत काम भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

श्राेत ः नाया पेज

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here