काठमाडौं ।। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरूद्ध रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। योसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। क्यानडाका लागि निकोलश किर्तोनले ६८ र पर्गत सिंहले ५० रन बनाए । नेपालका लागि भने कप्तान रोहित कुमार पौडेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले १–१ विकेट लिए । २ विकेटको क्षतिमा ११४ रनको अवस्थामा रहेको क्यानडाका पर्गत सिंहलाई ५० रनमा ललित राजवंशीबाट क्याच आउट गराउँदै क्याप्टेन रोहितले नेपाललाई ‘ब्रेक थ्रू’ गराएका थिए । ८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चेर ४ विकेट लिए । उनले श्रेयर मोभ्भालाई १, उदय भागवानलाई ६ र इश्वरजोत सोहीलाई शुन्य रनमा आउट गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ओभर खेलेर २२४ रनमा अलआउट भएको थियो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ६२ रन बनाए। आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सराफले १५ रन बनाए । सूर्य तामाङ भने १० रनमा अविजित रहे। ललित राजवंशी १ रनमा आउट भए । कप्तान रोहित पौडेल र आसिफ शेख ८–८ रनमा आउट भए। रिजन ढकाल ४ रनमा आउट भए । क्यानडाका लागि उदय भागवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ तथा शाहिद अहमदजाई र हर्श ठकेरले १–१ विकेट लिए । नेपाल र क्यानडाबीचको दोस्रो खेल शनिबार त्रिवि मैदानमा हुनेछ ।
क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।