काठमाडौं ।। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दुईमहिना भन्दा धेरै भयो । प्याज आयात रोकिएपछि नेपालमा पनि प्याजको मूल्य अस्वाभाविक रूपमा बढेको छ । प्याजको मूल्य बढेसँगै प्याज खरिद र उपभोग गर्नेहरु कम हुँदै गएका छन् । काठमाडौंमा किराना पसल गर्दै आउनुभएका सप्तरीका शशिकला चौधरीले प्याज बेच्न छोड्नुभएको ३ हप्ता भयो । थोक मूल्यमा नै प्रतिकिलोमा १ सय ७० भन्दा धेरै तिनुपरेपछि बेच्न छाड्ने मात्र होइन, खाजा, खाना बनाउने होटल तथा पसलहरूमा पनि प्याजको प्रयोग गर्न छोडिएको छ । ललितपुरमा होटल चलाउँदै आउनुभएका दोलखाका यशोदा केसी आफूले प्याज प्रयोग गर्नै छोडेको बताउनुहुन्छ । अहिले बजारमा प्रतिकिलो दुईसयदेखि दुई सय ५० रुपैयाँसम्म प्याज विक्रि भइरहेको छ । खुद्रा पसलेले तीनसय रुपैयाँसम्म लिइरहेका छन् । एकजना उपभोक्ता रचना शाक्य मूल्य बढेपछि प्याजको विकल्प खोज्न थालेको बताउनुुन्छ । भारतले निर्यात बन्द गरेपछि चीनबाट प्याज आयात बढेको छ । प्याज महङ्गिँदा सर्वसाधारण मात्र होइन, मन्त्री र सचिवको भान्सा पनि प्रभावित भएको छ । कृषि मन्त्रालयका सचिव डाक्टर युवकध्यव जीसी भाउ बढेसँगै प्याज कम किन्ने र निकै थोरै मात्र प्रयोग गर्ने गरेको बताउनुहुन्छ । बितेको तीन महिनामा ७ लाख ३६ हजार किलो भारतबाट र ४१ हजार किलो प्याज चीनबाट आयात भएको छ । यहाँ खपत हुनेमध्ये ८० प्रतिशत प्याज बाहिरबाट ल्याउन परिरहेको छ । गत वर्षमात्रै ५ अर्ब ६२ करोड रुपैयाँ प्याजकै लागि बाहिरिएको छ । देशमै प्याज उत्पादन बढाउन सरकारले प्रभावकारी काम नगरेको किसानको गुनासो छ । तर मन्त्रालय भने प्याज खेतिका लागि गरिएको आह्वानमा कोहीपनि किसानले दरखास्त नदिएको बताउँछ । धेरै नाफा हुने र सजिलो बालीमा मात्रै किसान केन्द्रीत हुँदा प्याजको उत्पादन बढाउन नसकिएको सरकारको भनाइ छ । प्याजखेती उच्च हिमालीबाहेक नेपालका सबै ठाउँमा हुन्छ । नेपालमा एक पाउदेखि आधा किलोसम्मका प्याजको गाना उत्पादन हुने तरकारी बाली विकास केन्द्रले दावी गरेको छ । तर भइरहेको प्याजको खेती निर्वाहमुखी हुँदा आयात घट्न सकेको छैन ।
प्याजको मूल्य बढेसँगै प्याज खरिद र उपभोग गर्नेहरु कम हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।