सिन्धुली ।। सिन्धुलीमा जुनारमा लागेको किराको प्रकोप कम हुन थालेको छ । करिब ५ बर्षअघिदेखि प्रकोपको रुपमा रहेको जुनारमा फल कुहाउने झिँगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सको प्रकोप कम हँुदै गएको हो । किराको प्रकोपका कारण चिन्तित भएका जुनार किसान अहिले किराको प्रकोप नियन्त्रण हुँदै गएपछि फेरि जुनार खेतीप्रति उत्साहित भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका –४ तिनकन्याका लालबहादुर ठाडाको बगैँचामा पाँच सय भन्दाबढी जुनारका बोटहरु छन् । त्यसमध्ये करिब एकसय भन्दाबढी बोटमा अहिले जुनार फलेको छ । विगतका तुलनामा यस बर्ष जुनार राम्रोसँग उत्पादन भएपछि उहाँ मख्ख हुनुहुन्छ । जुनारमा लागेको किरा यसपटक कम भएपछि उहाँ उत्साहित देखिनुभएको छ । सिन्धुलीलाई जुनारको राजधानी भनेर चिनिन्छ । सिन्धुलीमा गत बर्षहरुमा जुनार पाकेर बजार लैजाने बेलामा रोग लागेर फल नष्ट हुँदा किसान मारमा परेका थिए । जुनार क्षेत्रमा किराको प्रकोप न्यूनिकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपर जोन कार्यालय खनियाँखर्क र जुनार सुपरजोन सञ्चालक समितिले क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम लागू गरेको थियो । औषधी छिटेपछि किराको प्रकोप कम भएको जुनार सुपरजोन सञ्चालक समितिका संयोजक गोविन्द लुङ्गेलीले बताउनुभयो । सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्सको प्रकोपका कारण जुनार फलमा किरा लाग्ने र कुहिएर बोटमै नष्ट हुने समस्या भएको थियो । प्रोटिन बेट नामक औषधीको प्रयोगपछि ५ देखि ७ प्रतिशत मात्रै किराको प्रकोप रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना (जुनार सुपरजोन) खनियाँखर्कका कृषि अधिकृत रविकिरण अधिकारीले बताउनुभयो । जुनारमा प्रयोग गरिएको औषधिले मानविय स्वास्थ्यमा असर नपार्ने विज्ञहरुले बताएका छन् । सिन्धुलीमा एकहजार २० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिन्छ भने जिल्लाका ५ हजार भन्दा बढी किसानले प्रत्यक्ष रुपमा जुनार खेतीबाट आम्दानी लिंदै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here