काठमाडौं ।। सरकारले सीमा समस्याको समाधान एकैपटक खोज्ने जनाएको छ । कालापानी लगायतको सबै सीमा समाधानका लागि भारतलाई कुटनीतिक नोट पनि पठाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिजो नियमित पत्रकार सम्मेलनमा सीमा समस्या समाधानका लागि नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोटसमेत पठाइसकेको जानकारी गराउनुभएको हो । मन्त्री बास्कोटाले कुटनीतिक र राजनीतिक रुपमा लिम्पियाधुरासँगै सुस्ताको सिमा समस्याको पनि समाधान गरिने बताउनुभयो । यसैबीच, भारतले कालापानीलगायतका क्षेत्र आफ्नो नक्सामा राखेपछि संसदले पनि चासो राखेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समिति स्थलगत अध्ययनमा जाने भएको छ । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको थियो । स्थलगत सत्यतथ्यसहित सरकारलाई आवश्यक पहल गर्न समितिबाट निर्देशन दिइनेछ । राज्य व्यवस्था समितिले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक र राजनीतिक पहल गर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । यसैबीच, सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले नेपाली भूमीमा बनाएका भारतीयका टहरा हिजो भत्काएको हो । देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here