काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापान भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किदै हुनुहुन्छ । उहाँ जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कने कार्यक्रम छ । जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यानमारबाट जापान जानुभएको थियो । राष्ट्रपति भण्डारी हिजो जापानी सम्राटको गद्दी आरोहण समारोहमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी छन् । जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछुट्टै भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलले टोकियोको करिब एक हजार दुई सय वर्ष पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको छ । यसअघि राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here