नेपालगञ्ज ।। नेपालगञ्जमा मधेसी र मुस्लीम समुदायको बाक्लो बसोबास छ । केटाहरु भएको विद्यालयमा पढाउँदा सानै उमेरमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गर्ने, प्रेम गर्ने डरका कारण छोरीहरुलाई विद्यालय पठाउन अभिभावकले मान्दैनन् ।
तर शिक्षा लिनबाट बञ्चित छात्राहरुका लागि नेपालगञ्ज ४ सल्यानीवागमा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको छ । उर्दु भाषाको पढाई, प्रोत्साहनका कार्यक्रम र निःशुल्क शिक्षाको व्यवस्था भएपछि अभिभावकले छोरीहरु विद्यालय पठाउन थालेका छन् । शिक्षिका आरविदा जमालका अनुसार निःशुल्क शिक्षाका साथै उर्दु भाषामा पनि पढाई हुन थालेपछि अभिभावकले विद्यालयमा छात्राहरुलाई पठाउन थालेका छन् । छात्रा विद्यालय बनेपछि पढ्न छोडेकि रोसनी हलवाई अहिले पुनः कक्षा ७ मा भर्ना हुनुभएको छ । मुस्लीम समुदायमा नमाज पढ्नु अनिवार्य भएकाले उर्दु भाषा पनि पढिरहेको उहाँ बताउनुहुन्छ । उहाँजस्तै, धेरै छात्राहरुले छात्रा विद्यालय बनेपछि र छात्रवृति पाउन थालेपछि पुनः पढाईलाई निरन्तरता दिएका छन् ।
छात्राहरु मात्रै हुने भएपछि पढ्न सहज भएको कक्षा ८ मा अध्ययनरत छात्रा सादिया खान र निशा कश्यप बताउनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिकाले सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा छात्रा मात्र अध्ययन गर्न पाउने गरी यहि वैशाखदेखी विद्यालय सञ्चालनमा ल्याएको हो । वडा र उपमहानगरको सहयोगमा न्युन आयस्तर भएका अभिभावकहरुका लागी बाख्रापालन, किराना पसल, विद्यार्थीलाई छात्रवृति दिन थालेपछि अभिभावकहरुले पनि छोरीहरुलाई विद्यालय पठाउन थालेका छन् । अभिभावक जुवेदा सल्मानी सबैथोक व्यवस्था भएपछि छोरीहरुलाई पढाउन सजिलो भएको बताउनुहुन्छ । २०२२ सालमा स्थापना भएको यो विद्यालयमा ०३५ सालमा निम्न माध्यामीक विद्यालय सन्चालनमा आएको हो ।
उपमहानगरपालिकाले ९० लाखको लागतमा जीर्ण विद्यालय मर्मत सम्हार गर्नुका साथै नयाँ संरचनाहरु निर्माण गरी पठनपाठन सुरु गरेको हो । गतवर्ष १ सय २० जना विद्यार्थी रहेकोमा यस वर्ष बढेर २ सय ५२ पुगेको छ । शैक्षिक गुणस्तरमा पनि सुधार भएकाले विद्यार्थी संख्या वढेको प्रधानाध्यापक व्रिधेस कुमार जैसवाल बताउनुहुन्छ । विद्यालयमा उपमहानगरको अनुदानमा १० वटा कम्प्युटर सन्चालनमा छन् । १३ जनाले अध्ययन अध्यापन गराइरहेका छन् ।
खासगरी मधेसी तथा मुस्लिम समुदायका छात्राहरुलाई समस्या देखिएपछि छात्रा विद्यालयमा संचालनमा ल्याईएको मेयर डा. धवल शमशेर राणाले बताउनुभयो । छात्राहरुका लागि नेपालगञ्जमा यसअघि सरस्वति माविमा पनि सन्चालनमा छ । छात्रा विद्यालयसँगै नेपालगञ्ज उपमहानगरपालीकाले उच्च शिक्षा अध्ययनका लागी छात्रा क्याम्पस खोल्ने प्रक्रिया अगाडी बढाएको छ ।