काठन्माडु ।। समाजलाई रुपान्तरण गर्न र मुलुकलाई सम्वृद्धिको बाटोमा लैजान कुशल नेतृत्वको आवश्यक हुन्छ । नेतृत्वलाई सामान्य भाषामा नेता भनिए पनि उनीहरूमा हुनुपर्नेण गुण र कला नभेटिँदा पदचाप पछ्याइरहेकाहरूले के सिकीरहेका होलान् ? अहिले यो विषयमा बहस हुन थालेको छ । खासगरी सभामुख कृष्णबहादुर महराले संसदमा कार्यरत एकजना महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि नेताको आचरण र अनुशासनका विषयमा हुने बहसहरु फरक ढंगले हुन थालेको छ ।
समाजमा भए, गरेका गलत परम्परालाई सही दिशा दिने, शुशासन, पारदर्शीताको कसीबाट तलमाथि नहुने गरी विकासनिर्माणका काम गर्ने र गराउने अपेक्षा नेतृत्वबाट हुन्छ । आम नागरिकको बुझाईमा नेता कस्तो हुनुपर्छ ? नागरिक भन्छन्, नेता भ्रष्टाचार नगर्ने, विकास गर्ने, अन्यायका विरुद्ध लड्ने खालको हुनुपर्छ । अँध्यारोमा उज्यालोका किरण पु¥याइदिने मात्र होइन, आफ्नो लागि थोरै र अरुको लागि धेरै बाँच्नेहरू नेता हुनुपर्छ भन्ने नागरिकको धारणा छ । न्याय र अन्याय छुट्याउने सीप पनि नेतृत्वमा आवश्यक हुन्छ ।
एकसय ४ बर्षे राणा शासनको अन्त्यका बेला होस्, वा प्रजातन्त्रको पुर्नस्थापना या त्योभन्दा पछिका तत्कालीन शसस्त्र द्वन्द्व, त्यसपछिका लोकतन्त्र, गणतन्त्र प्राप्तिका आन्दोलनताका नेतृत्व गर्ने व्यक्ति नै थिए । राजनीतिक विश्लेषक विष्णु सापकोटा समय बित्दै जाँदा नेतृत्वमा नैतिकता, क्षमता र कला लोप हुँदै गयो भन्नुहुन्छ । अरुलाई उचित बाटो र नैतिकतामा हिडाउँन सबैभन्दा आफू हिँडेको बाटोका बारे नेतृत्वले पाइलापाइलामा आफैलाई प्रश्न गर्नुपर्छ ।
तर नेपाली नेतृत्व अर्थात् नेताहरूमा राष्ट्रियता, स्वाभीमान, सुशासन र पारदर्शीताका बारेमा घण्टौँ भाषण गर्ने कला भए पनि अरुलाई देखाउने, हिड्ने र हिँडाउने नैतिकताको बाटोबाट बिमुख हुँदै गएको घटनाक्रमहरूले देखाउँदै लगेका छन् ।