काठमाडौँ ।। राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । १०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा मूलसमारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।