काठमाडौँ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।
काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज आयोजित राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए ।
सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए ।
‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ’, प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।’
प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री दाहालले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैँ चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधानसमेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उल्लेख गरे । प्नधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान समेत गरेका हुन् । उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे । तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here