काठमाडौँ ।। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६ वर्षमा कुकुरको टोकाइबाट ८७ जनाको मृत्यु भएको छ । पछिल्लो ३ बर्ष यता कुकुरको टोकाइको समस्या लिएर अस्पताल पुग्नेहरू समेत बढिरहेको तथ्याङ्क छ । रेबिज लागेको तर अस्पताल पुग्न ढिला हुँदा मृत्यु हुनेको सङ्ख्या बढेको चिकित्सकहरूले बताएका छन् । ललितपुर चापागाउँका रुपक बजगाईलाई बाटोमा कुकुर देख्दा डर लाग्छ । उहाँलाई सानै उमेरमा आफ्नै घरको कुकुरले टोकेको हुनाले उहाँलाई कुकुर देख्दा डर लाग्ने बताउनुभयो । काठमाडौँ सुकेधाराका उमा रेग्मीलाई पनि आफ्नो नजिकै कुकुर आए डर लाग्ने सुनाउनुहुन्छ । कुकुरले टोकेमा रेबिज लाग्ने डरले उहाँहरुले रेबिज विरुद्धको खोप लगाउनु भएको छ । पछिल्लो समय कुकुरले टोकेपछि खोप लगाउन अस्पताल पुग्नेको सङ्ख्या पनि बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझाले जानकारी दिनुभयो । महाशाखाका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ३३ हजार २ सय ४ जनाले कुकुरले टोके पछिको उपचार गराएका छन् । जबकि गत आर्थिक बर्षमा यो सङ्ख्या बढेर ५२ हजार ६ सय १० पुगेको छ । महाशाखाको तथ्याङ्क अनुसार गत ६ वर्षमा मात्रै कुकुरको टोकाइबाट ८७ जनाको मृत्यु भएको छ । रेबिज लागेको कुकुरले टोके मानिसमा पनि सर्छ र रेविज विरुद्धको खोप नलगाएमा मृत्यु पनि हुन सक्छ । कुकुरले टोकिहालेमा रेबिज बिरुद्धको खोप लगाउन हेल्चेक्र्याइ नगर्न डाक्टर शेरबहादुर पुनको सुझाब छ । सामान्यतया कुकुरलाई नजिस्क्याए सम्म उसले टोक्दैन । कुकुरलाई जिस्क्याउने, उसको बच्चा खोस्ने, कुट्ने, पिट्ने, गाडीले ठक्कर दिने जस्ता गतिविधि रोके कुकुरको टोकाइबाट बच्न सकिन्छ । कुकुरको टोकाइबाट जोगिए रेबिज रोग लाग्न बाट पनि सुरक्षित रहन सकिने डाक्टरहरू बताउँछन् ।्

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here