रौतहट ।। हाल सम्म देशभर १४ लाख ५७ हजार ६ सय ७० जनालाइ कोरोना बिरुद्धको दुबै डोजको खोप लगाईएको छ । खोप वितरणको प्रक्रिया हाल पनि जारी छ । सरकारले अग्रमोर्चामा खटिने कर्मचारीको रुपमा सरसफाइकर्मीलाई खोप दिदै आएको छ । तर अनौपचारिक क्षेत्रका फोहोर सङ्कलकहरु भने कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन् ।फोहोर संकलनको काम गर्दै आउनुभएका रौतहट बौधीमाई नगरपालिकाका मुन्ना बाबू जयसवालले अहिले सम्म कोरोना बिरुद्धको खोप लगाउन पाउनुभएको छैन । बिग्रिएका सामान सङ्कलन गर्ने र बेच्ने गर्नुपर्दा दैनिक धेरै मानिससंग उहाँको भेट हुन्छ । जयसवालले खोप लगाउन मन भएपनि खोप नपाएको गुनासो गर्नुभयो । नेपालमा सरकारी तथा गैरसरकारी क्षेत्रमा करिव ६ हजार सरसफाईकर्मी र अनौपचारिक क्षेत्रका १५ हजार बढि फोहोर संकलकहरु छन् । सरकारी र गैरसरकारी क्षेत्रका अधिकांश सरसफाईकर्मीले कोरोना विरुद्धको खोप लगाएपनि अनौपचारिक क्षेत्रका फोहोर सङ्कलकले खोप पाएका छैनन् । फोहोर सङ्कलकहरु समुदाय र व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकाले उनीहरुलाई प्राथमितामा राखेर खोप दिनुपर्ने अनौपचारिक क्षेत्रका फोहोर संकलकका लागी काम गर्ने संस्था, विश्वका चिकित्सकहरुका कार्यक्रम व्यवस्थापक अस्मिता थापाले बताउनुभयो । फोहोरमैला व्यवस्थापन संघमा आवद्ध देशभरका २ हजार ५ सय सरसफाइकर्मी मध्ये १ हजार ६ सयले भने कोरोना विरुद्धको खोप लगाएका छन् । अनौपचारीक क्षेत्रका फोहोर सङ्कलकलाई पनि उनीहरुलाई सरह खोपको व्यवस्था गर्नुपर्ने फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष ध्रुव आचार्यको भनाई छ । सरकारले सुरुमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी लगाएतलाई खोप दिने भनेको थियो । तर अहिले क्रमशः उमेर समुह अनुसार खोप वितरण भइरहेको छ । त्यसैले सरसफाइकर्मिको लागि अलग्गै भन्दा पनि सबैलाई खोप दिने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारी बताउनुुहुन्छ । अनौपचारिक क्षेत्रमा फोहोर सङ्कलनको काम गर्ने देशभरका झण्डै १५ हजार नागरिक खोपको पखाईमा छन् भने सरकारले पनि उमेर समुहको प्रथामिताका आधारमा खोप दिने बताएको छ ।
अनौपचारिक क्षेत्रका फोहोर सङ्कलकहरु कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन्
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।