काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा रहेको बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । संसदको माथिल्लो सदन राष्ट्रियसभामा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकल बहुमतलाई खण्डित गर्ने षड्यन्त्र सुरु भएपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।
‘‘मैले धेरै प्रयास गरें, भरसक पाँच वर्ष सरकार टिकोस् भनेर, जनताको इच्छा थियो, सरकार परिवर्तन भइरहने अवस्थालाई स्थायित्व र स्थिरता भनिँदैन,’’ ओलीले भने, ‘‘तर केही पनि काम हुन दिइएन । गत असारदेखि पुस ४ गतेसम्म सरकारलाई कमजोर पार्ने मात्र २८० वटा बैठक भएछन् ।’’
उनले दुई-तीनजनाको गुटगत भेटघाटलाई आफूले बैठकमा रुपमा गिन्ती नगरेको बताए । देशलाई अस्थिरतामा लान आफ्नै पार्टीबाट अनेक प्रश्न उठाइएको भन्दै त्यस्तो किन गर्नुपर्यो भन्दै प्रश्न गरे ।
‘‘सरकारले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएको थियो । इँटामा लेउ लागेर बसेका रानीपोखरी निर्माण सम्पन्न भयो, सात लाख घर निर्माण गरेर हस्तान्तरण भए, धेरै काम भएको कुरा साथीहरुले अनुभव गर्नुभएको छ,’’ ओलीले भने, ‘‘धरहरा, काठमाडौं उपत्यकाको ब्युटीफिकेसन भएको छ, तराईमा ढलको व्यवस्था भएको छ, धेरै काम भएका छन् । गत आर्थिक विर्षमा मात्र करिव ६ हजार हेक्टर क्षेत्रमा सिँचाइ भएको छ ।’’