-मनोज चौधरी ।। प्रदेश २ मा बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्यनजर गर्दै संक्रमित भएका गरिब तथा अति विपन्न वर्गका लागि निःशुल्करुपमा घरमै अक्सिजन सिलिण्डर व्यवस्थापन र अन्य चिकित्सकीय परामर्शका लागि क्लोथ बैंक धनुषाले होम आइसोलेसन अभियान चलाएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुखको निगरानीमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । जनकपुरका प्रादेशिक अस्पताल वा विभिन्न निजी अस्पतालहरुमा कोरोनाका विरामीका लागि राखिएको बेडहरु भर्दै गएको छ, समुदायस्तरमा कोरोना प्रवेश गर्दैछ । केही दिनपछि जनकपुरका अस्पतालहरुमा बेडहरु पाइने छैन । त्यसपछि उपचारको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वार्डले जसलाई सिफारिस गरेर होम आइसोलेसनमा बस्न सल्लाह दिन्छ, त्यस्तालाई हामीले होम आइसोलेसनमा बस्ने विभिन्न सुविधाहरु उपलब्ध गराउँछौं । हामीसँग अहिलेसम्म ५१ जना विशेषज्ञ चिकित्सकहरु र भारतका पनि चिकित्सकहरु जोडिनुभएका छन् । ती चिकित्सकहरुमार्फत् हामीले निःशुल्करुपमा चिकित्सकीय सल्लाह पनि दिनेछौं । त्यतिखेर अक्सिजनको आवश्यकता भए तत्कालै हामी उपलब्ध गराउँछौं । यही क्रममा हामीले अहिलेसम्म ४०–५० वटा सिलिण्डलहरु तयारी अवस्थामा राखेका छौं ।
हाम्रो होम आइसोलेसनमा अहिलेसम्म लगभग १५–१७ जना छन् । उहाँहरुलाई हाम्रो चिकित्सकको टोलीले राम्रो तरिकाले उपचार र सल्लाह दिइरहनु भएको छ । यस्तै, गरिब तथा अतिविपन्न वर्गका व्यक्तिलाई चाहिने लत्ताकपडा पनि क्लोथ बैंक धनुषाले उपलब्ध गराइरहेको छ । निकट भविष्यमा हामीले भेन्टिलेटर र मिनि भेन्टिलेटर पनि उपलब्ध गराउँछौं । धनुषाका प्रजिअले २० थान बेड प्रादेशिक अस्पताललाई र ५० थान गंगुलीको क्वारेन्टाइनलाई दिने विपत व्यवस्थापन समितिबाट निर्णय गर्नुभएको छ । त्यो बेड हामीले पायौं भने त्यसमा लाग्ने अक्सिजन र मोनिटर स्थापना गर्ने हाम्रो योजना योजना छ ।
हामीसँग जोडिनुभएका चिकित्सकहरुलाई कुनै किसिमको शुल्क दिनुपर्दैन । उहाँहरु स्वेच्छाले मानव सेवा भावले हामीलाई सहयोग गरिरहनु भएको छ । उहाँहरुले नै हामीलाई सहयोग गर्ने वाचा गर्नुभएको छ । भोलीको दिनमा आवश्यक प¥यो भने उहाँहरुले पनि अक्सिजन सिलिण्डर उपलब्ध गराउने आश्वासन दिँदै हाम्रो उत्साह बढाउनुभएको छ ।
सरकारहरुको रवैयाका बारेमा सबैलाई थाहै छ । नेपालमा कोभिडको प्रकोप आएको लगभग पाँच महिनाभन्दा बढी समय बितिसक्यो तर ठोस कदम चाल्न सकेको छैन । अहिले मुलुकमा तीव्रगतिमा बढ्दै गरेको कोरोनालाई मध्यनजर गर्दै अब पनि सरकारले केही गर्छ भन्ने प्रतिक्षामा बस्यौं भने धेरै मान्छे संक्रमित भई मर्ने अवस्था आउँछ । त्यसैले हामी अगाडि आयौं । तीनै तहको सरकारलाई हामी अहिले पनि आग्रह गर्न चाहन्छौं कि अब तपाइँहरु विकासे बजेट छोड्नुस्, अहिले विकास गर्ने अवस्था छैन, जनतालाई बचाउनुस् । तपाइँहरुसँग भएका जनशक्ति, साधनस्रोत र पैसाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री लगायतका लागि काम गर्नुस् । उहाँहरुले यो काम गर्न सक्नुभएन भने भोलीको दिनमा भयावह अवस्थाको सिर्जना हुनेछ ।
कोरोना महामारीको बीचमा सरकारको उपस्थिति देखिएको छैन । प्रदेश सरकारले संघीय सरकारको मुख ताकेर बसिरहेको छ । प्रदेश सरकारसँग पनि केही अधिकार र बजेट छ त्यसलाई प्रयोग गर्नुप¥यो । प्रदेश सरकारले प्रदेशभरिका जनतालाई आफ्नो उपस्थितिको अनुभूति गराउनुपर्ने हो । यसमा मुख्यमन्त्रीको प्रमुख भूमिका हुनुपर्छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको भूमिका सन्तोषजनक छैन । जनताले प्रदेश सरकारको अनुभूति गरेका छैनन् । आगामी दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने देखिन्छ । प्रदेशमा भेन्टिलेटरको अभाव छ, यस्तो अवस्थामा मृत्यु बढी हुने सम्भावना देखिन्छ । त्यसकारणले प्रदेश सरकारले प्रमुख भूमिका खेल्नुपर्ने आग्रह गर्दछु ।
प्रदेश सरकारले गर्नुपर्ने काम अहिले हामीले गर्नुपरेको छ । प्रदेश सरकारले नै यस्तो कार्यहरुमा सक्रियता देखाइदिएको भए हामी अन्य कामतिर लाग्थ्यौं । तर, प्रदेश सरकारको सक्रियता नदेखिएकोले हामी अगाडि आएर यो अभियान चलाउनु परेको हो । प्रदेश सरकारले कमसेकम भेन्टिलेटर र मिनि भेन्टिलेटर कोरोना अस्पतालमा पूर्ति गराउनका लागि अनुरोध गर्छु । यदि यस्तो गर्न सक्नुभएन भने कोरोनापछि प्रदेश सरकार धेरै नै आलोचित हुने अवस्था आउँछ ।
प्रदेश २ को प्रादेशिक अस्पताल सिल भएको अवस्था छ । नर्सिङ्ग क्याम्पसमा जहाँ आइसोलेसन बनाएको थियो त्यो पनि सिल भएको अवस्था छ । कोभिडका लागि चाहिने बेड वा स्थान प्रादेशिक अस्पतालमा पनि नरहेको अवस्था छ । जसकारणले अन्य रोगका विरामीहरु मारमा छन् । देशभरिकै अस्पतालको समस्या के छ भने यदि तपाइँलाई ज्वरो वा रुघाखोकी लागेको छ भने भर्ना नै गर्दैन । अस्पतालले पहिला कोभिड परीक्षण गराउन आउनुस् भन्छ । चिकित्सकहरु पनि जोखिममा हुनुहुन्छ । य कुराहरुमा स्थानीय, प्रदेश र संघीय सरकारलाई गम्भीर हुन अनुरोध गर्छु । कमसेकम प्रादेशिक अस्पतालमा कमसेकम चार सय पाँच सय शैय्याको बेड तयारी गरेर भेन्टिलेटर र मिनि भेन्टिलेटर व्यवस्था गर्नुपर्ने अवस्था ।
तीनै तहको सरकारलाई हामी आह्वान गर्न चाहन्छौं कि आउनुस् हामी पनि तपाइँहरुको सहयोगी नै हौं । तपाइँहरुसँग हामी हातेमालो गरेर यो महामारीका विरुद्ध लड्न तयार छौं । हामीसँग भएका चिकित्सक, अक्सिजन सिलिण्डर, युवा जनशक्तिहरु कोरोना भोलेन्टियर बनेर तपाइँहरुसँग मिलेर अगाडि बढ्न तयार छौं । यसो गरियो भने निश्चय यो कोरोना महामारी रोकथाममा हामी अहम् भूमिका खेल्नेछौं ।
होम आइसोलेसन अभियान प्रभावकारी बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।