काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो । आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।
गौर र चन्द्रपुर प्रदर्शनकारीको कब्जामा, कर्फयु जारी
रौतहट ।। गौर चन्द्रपुर सहित रौतहट जिल्लाभरी प्रदर्शन जारी रहेका छन् । जेनजीको प्रदर्शनका क्रममा रौतहटका युवा विद्यार्थीहरु सहितका प्रदर्शनकारीहरु गौर र चन्द्रपुर स्थित विभिन्न पार्टीका नेता एवं सरकारी सम्पत्तीमा क्षति पुर्याएका हुन् ।
चन्द्रपुरमा आन्दोलनकारीहरु उग्र बन्दै गएपछि प्रहरीहरुले कार्यालय छाडेपछि आन्दोलनकारीहरुले कब्जामा लिएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा रहेका थुनुवा बन्दीहरुलाई समेत मुक्त गराउदै कार्यालयका सामानहरुमा आगो लगाई जलाइदिएका छन् । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडि जलाई दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ ।
जेन जी को सपोर्टमा प्रदर्शन उग्र हुँदै गएपछि सरकारी सम्पत्तीमा भईरहेका हानी नोक्सानीलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा गौर र चन्द्रनिगाहपुरमा कर्फयु लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी पत्रमा गौरमा १२ बजे देखि र चन्द्रनिगाहपुरमा ११.३० बजेको समय देखि कर्फयु लगाइएको जानकारी गराइएको हो ।
रमेश लेखकको घरमा प्रदर्शनकारीले गरे आगजनी
काठमाडौं ।। रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । सोमबारमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनको नैकापस्थित घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रदर्शनकारीले अन्य शीर्ष नेताहरूको घरमा पनि आगजनी र तोडफोड गरिरहेका छन् ।
वीरगन्जमा कर्फु लगाइएपनि युवाहरुको प्रदर्शन जारी
वीरगन्ज ।। वीरगन्जमा कर्फु लगाइएपनि आज बिहानैदेखि युवाहरुको प्रदर्शन जारी छ। बिहान १० बजेदेखि घण्टाघर,माइस्थान लगायतका चोकहरुमा युवाहरुले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।
माईस्थान र घण्टाघर चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास हानिरहेको छ। स्थानीय प्रशासनले सोमबार राति ९ बजेदेखि लगाएको कर्फुलाई मंगलबार साँझ ६ बजेसम्मका लागि लम्ब्याएको छ।
रौतहटको चन्द्रनिगाहपुरमा झडप, प्रहरीले गोली चलायाे
रौतहट ।। रौतहटको चन्द्रनिगाहपुरमा मंगलबार प्रहरीले गोली प्रहार गरेको छ। ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले गोली चलाएको हो। प्रदर्शनकारीले प्रहरीको भ्यानमा आगजनी गरेर ध्वस्त बनाइदिएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ हवाई राउण्ड फायर गरेको छ। यसकारण चन्द्रनिगाहपुरको अवस्था अहिले तनावग्रस्त बनेको छ।
हिजो सोमबार प्रदर्शनका क्रममा भएको दमनविरुद्ध मंगलबार जेनजी पुस्ताको विरोध प्रदर्शनमा झडप भएपछि प्रहरीले गोली प्रहार गरेको थियो। प्रदर्शनकारीले यसअघि चन्द्रपुर नगरपालिकाको कार्यालय र गाडीमा तोड्फोड र आगजनी गरेका थिए ।
रास्वपा सांसदहरूको सामूहिक राजीनामा
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छ । अहिले बसिरहेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो । निर्णय लगत्तै केही सांसदहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
रास्वपाका शीर्ष नेताका अनुसार उनीहरूले आफूले सांसद पदबाट राजीनामा दिएको जानकारी आज नै सभामुखलाई गराउने बताइएको छ ।
ती नेताका अनुसार सबै सांसदहरूले सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको स्टाटस समेत लेख्ने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले प्रतिनिधिसभामा सभापति रवि लामिछाने बाहेक २० जना सांसदहरू छन् । यो पार्टी देशको चौथो ठूलो शक्ति हो ।
खानेपानीमन्त्री यादवले दिए राजीनामा
काठमाडौं ।। खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजीनामा दिएका छन्। जेन-जी पुस्ताको प्रदर्शनका क्रममा सोमबार भएको घटनाले नैतिकताका आधारमा पदमा बस्न उचित नभएको भन्दै राजीनामा बुझाएका हुन्।
यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय भाइबहिनीहरू तपाईँ नै मेरो प्रथम सहयोग र मेरो जोश र ऊर्जाका सूत्रधार हुनुहुन्छ हामी सबैले समयमा त अपनाई युवा पुस्तालाई सही मार्गदर्शन दिन र सहयोग गर्न अपिल गर्दछु उनले लेखेका छन् ।’
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि आगजनी भएको छ। प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ। त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ।
जेन-जीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
काठमाडौ ।। आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमाडौं ।। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले पुष्टि गरेका छन् ।
सोमबार दिनभर राजधानीमा भएको जेनजी समूहको आन्दोलन हिंसात्मक रुप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित नहुने बताएका छन् । राजीनामाको निर्णय उनले त्यसअघि पार्टी बैठकमा पनि सुनाएका थिए ।