काठमान्डु ।। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा राजीव ढुंगानालाई मनोनीत गर्नुभएको छ । काँग्रेस शीर्ष नेताबीच गत शुक्रबार भएको सहमतिअनुरुप देउवाले ढुंगानालाई अध्यक्ष मनोनीत गर्नुभएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयले २०७५ फागुन एक गतेको बैठकको निर्णयअनुसार, नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम सभापति देउवाले नेविसंघ तदर्थ समिति गठन गर्नुभएको जनाएको छ । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गरिसक्ने कार्यादेश देउवाले दिनुभएको छ । त्यस्तै देउवाले तदर्थ समितिको महामन्त्रीमा मनोज वैद्य (काठमाडौं) र महेश्वरी कुँवर (पाल्पा) लाई मनोनीत गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
समितिलाई १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अधिकार देउवाले दिनुभएको छ । तदर्थ कार्यसमितिमा रहेका १२ औं महाधिवेशनमा उम्मेदवार बन्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।
आगामी महाधिवेशनमा नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ माघ २९ गते सम्म ३२ वर्ष उमेर ननाघेका मात्रै उम्मेदवार बन्न पाउने केन्द्रीय कार्यालयले जनाएको छ । एक सय २७ सदस्यीय कार्यसमिति गठन गर्ने र त्यसमा नौ महामन्त्री तथा ६–६ उपाध्यक्ष र सहमहामन्त्री बनाउने सहमति शुक्रबार सभापति देउवा, नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको थियो । पदाधिकारीमा समेत भागबन्डा गर्ने सहमति उनीहरुबीच भएको थियो । सहमतिअनुसार नौ महामन्त्रीमध्ये संस्थापन र पौडेल समूहले ३–३, सिटौला पक्षले दुई तथा उपसभापति विजयकुमार गच्छदारले एक जना सिफारिस गर्नेछन् ।
आज मनोनीत भएका दुवैजना संस्थापनबाट हुन् । उपाध्यक्ष र सहमहामन्त्री संस्थापन, पौडेल र सिटौला समूहले २–२ भागबन्डा गर्ने सहमति बनेको छ । ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन थियो ।