राैतहट।। नारायणी सिंचाई परियोजना अन्तर्गत गण्डक नहरमा समयमै पानी नछोडिएको भन्दै बारा र रौतहटका किसानहरू आक्रोशित बनेका छन्। विगत असार १४ गते नै गण्डक नहरमा पानी आएको भनेर नारायणी सिंचाई कार्यालय, वीरगञ्जले विज्ञप्ति जारी गरे पनि हालसम्म बारा र रौतहट जिल्लाका अधिकांश नहरहरूमा पानी पुगेको छैन।
किसानहरूका अनुसार उनीहरूले कार्यालयमा सम्पर्क गर्दा कार्यालय प्रमुख मनोज पटेल र इन्जिनियर ललन बैठाले बारम्बार झूटा आश्वासन मात्र दिने काम गरेका छन्। “हामी बारम्बार नहरमा पानी कहिले आउँछ भनेर सोधिरहेका छौँ, तर प्रमुख पटेलले आफैँ गाउँकै भएको भन्दै धम्क्याउने शैलीमा बोल्छन्”, एक किसानले बताए।
यसबीच, बारा जिल्लाको मझरिया क्षेत्रसम्म भने थोरै मात्रामा पानी आएको छ, तर त्यो सिंचाइका लागि प्रयाप्त नभएको किसानहरूको गुनासो छ। यता विगत केही हप्ता यता वर्षा नहुनु र किसानहरूको सम्पूर्ण आशा गण्डक नहरको पानीमा रहेको हुँदा समयमै पानी नआउनु उनीहरूका लागि गम्भीर चुनौती बनेको छ।
किसानहरू अब धैर्य गुमाउँदै आन्दोलनको तयारीमा जुटेका छन्। यदि आगामी २–३ दिनभित्र नहरमा पानी नआएमा नारायणी सिंचाई कार्यालय, वीरगञ्ज घेराउ गर्ने चेतावनी दिएका छन्। रौतहट र बाराका सयौं किसानहरू एकीकृत रुपमा आन्दोलनमा उत्रन लागिरहेका छन् ।
उक्त समस्याप्रति न त संघीय सरकार न त प्रदेश सरकारले चासो देखाएको भन्दै किसानहरू थप आक्रोशित भएका छन्। “यो हाम्रो बालीको मौसम हो, समय गयो भने वर्षभरि भोकै बस्नुपर्ने अवस्था आउँछ,” एक स्थानीय किसानको आक्रोश छ।
नारायणी सिंचाई कार्यालय प्रमुख मनोज पटेलसँग सम्पर्क गर्दा उनले पानी वितरणसम्बन्धी जिम्मेवारीबाट आफू चुकेको स्विकार्नेभन्दा पनि स्थानीय भएकै नाममा किसानहरूलाई ‘थर्काउने’ प्रयास गरेको किसानहरूको आरोप छ।
सम्बन्धित निकायले तत्काल समाधान खोज्न आवश्यक छ। गण्डक नहरको पानीमा निर्भर हजारौं किसानको भविष्य दाउमा परेको यो घडीमा सरकारी उदासीनता थप पीडादायी भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here