काठमाडौं ।। कामको आधारमा पुरुष र महिलालाई विभेद गर्न नपाइने कानुनी व्यवस्था छ । तर अझैँपनि कडाइका साथ यो व्यवस्था लागू हुन नसक्दा विभेद अन्त्य हुन सकेको छैन । बाराका सुखनीदेवी र उहाँका श्रीमानले समान काम गर्दै आउनुुभएको झन्डै ९ वर्ष भयो । निर्माण क्षेत्रसहित पाएजतिका काममा सँगै खटिने गरेको भए पनि पाउने ज्यालामा भने विभेद छ । जसका कारण सुखनीदेवी श्रम बजारप्रति त्यति सन्तुष्ट हुनुहुन्न । युएन वुमनको अध्ययन प्रतिवेदन २०१९ अनुसार सेवातर्फ महिला श्रमिकको सङ्ख्या बढ्नु पर्नेमा यो सङ्ख्या १ प्रतिशतले घटेको छ । यसको कारण पनि पारिश्रमिकमा एकरूपता नहुनु हो भन्नुहुन्छ, श्रमविज्ञ सरु जोशी श्रेष्ठ । श्रम ऐन २०७४ को परिच्छेद ७ दफा २८ अनुसार समान काममा लिङ्गको आधारमा ज्यालामा भेदभाव गर्न पाइँदैन । तर महिला श्रमिकले भने यस विषयमा न्याय पाउन सकेका छैनन् । सरकार भने कानुन कार्यान्वयनमा कडाइभन्दा पनि कसैले गुनासो गरे मात्रै समस्या समाधान गर्ने बताउँछ । श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसी समान ज्याला नपाएको उजुरी आएमात्रै कारबाही गर्न सकिने बताउनुभयो । विभिन्न ट्रेड युनियनहरूका अनुसार नेपालमा झन्डै १ करोडको हाराहारीमा श्रमिक छन् । त्यसमा महिलाको सङ्ख्या करिब ४ लाख छ । ठूला कारखाना तथा मध्यम स्तरका होटलहरूमा लिङ्गको आधारमा ज्यालामा २५ देखि ४० प्रतिशतसम्म विभेद हुने गरेको छ ।
समान काम ः महिला र पुरुषमा ज्यालामा विभेद !
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।