अछाम ।। अछामका स्थानीय तह र बाल क्लबको सक्रियतामा बाल विवाह नियन्त्रण अभियान प्रभावकारी बनेको छ । स्थानीय सरकारहरुले बालविवाह विरुद्ध नीति तर्जुमा गर्नुका साथै बाल क्लबहरुको अभियानमा साथ दिन थालेपछि नियन्त्रणको अभियान प्रभावकारी बनेको हो । अछामको रामारोशन गाउँपालिकाका किशोरकिशोरीहरूले बिभिन्न कार्यक्रममार्फत बाल विवाह बिरुद्ध चेतना फैलाइरहेका छन् । रामारोशनका विभिन्न वडामा गठित बाल क्लबले ८ वटा त बालविवाह स्थगित नै गरिदिएको बाल क्लबका सदस्य लक्ष्मी रावलले बताउनुभयो । बालविवाहका कारण किशोरकिशोरीहरुले शारीरिक तथा मानसिक समस्या भोग्नु पर्छ । बालविवाहले उत्पन्न हुने समस्याका बारेमा बालक्लबहरूले चेतना फैलाउने काम गरिरहेका क्लबमा आवद्ध पञ्चदेवल बिनायक नगरपालिकाका प्रकाश रावल र कमला कडायतको भनाइ छ । नेपालमा २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाईने कानुनी व्यवस्था छ । सानैमा विवाह गर्दा आर्थिक तथा सामाजिक समस्या पर्ने सामाजिक अभियन्ता चम्फा कडायतको भनाइ छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार प्रहरीले विद्यालयमै पुगेर बालविवाह विरुद्धका विषयमा जानकारी पनि गराउने गरेको छ । आत्मनिर्भर नभई गरिने विवाहले आर्थिक, शारीरिक, स्वास्थ्य, पोषणसँग मानसिक रूपमा समेत समस्या उत्पन्न हुने भएकाले यसका विरुद्ध आवाज उठाउनुपरेको बताउनुहुन्छ, पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्विका चलाउने । बालविवाह गर्ने गराउनेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार देखि ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here