गौर ll किशोरीहरुलाई लक्षित गर्दै गौरमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्रण तालिम सम्पन्न भएको छ l SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरमा स्थित होटल सिया प्यालेसमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको हो । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागीता रहेको थियो l
सेफ गर्ल्स (SAFE Girls) परियोजनाको आयोजना तथा KOCIA , UNFPA र Good Neighbor’s International को सहयोग र आर.डी.सी नेपालको सहकार्यमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सम्पन्न भएको छ।
परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगरपालिका/गाउँपालिका रहेका छन् भने सर्लाहीमा हरिपुर्वा, बसबरिया र कौडेना नगरपालिका/गाउँपालिका रहेका छन्।
दुई समूहमा सञ्चालन गरिएको तालिममा प्रत्येक समूहमा २५ जना सहभागी थिए। तालिमको अवधि १० दिनको रह्यो जसमा २.५ दिन मानसिक स्वास्थ्य सम्बन्धी तालिम, आधा दिन PSEA (Protection from Sexual Exploitation and Abuse) तालिम र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो। रुपान्तरण तालिममा पहिलो देखि १0औँ मोड्युल सम्मको प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उदघाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी श्री विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी तथा Good Neighbor’s International का प्रतिनिधि शक्ति लामा उपस्थित भएका थिए l कार्यक्रम SAFE Girls परियोजनाको परियोजना संयोजक प्रिया चौरसियाले सञ्चालन गरेकी थिइन्। साथै, कार्यक्रममा परियोजनाको कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।
SAFE Girls परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। यस परियोजनाले किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सम्मानित बनाउने परिकल्पना बोकेको छ।
मानसिक स्वास्थ्य तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। यस तालिममार्फत सहभागीहरू समुदायमा परिवर्तनकर्ता बन्ने तयारीमा छन्।
तालिमका प्रशिक्षकहरूमा मानसिक स्वास्थ्यका लागि चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा रहेका थिए।
सेफ गर्ल्स परियोजना किशोरी तथा युवा महिलाहरूलाई जीवन उपयोगी सीप, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसाविरुद्धको सचेतना र सशक्तिकरणमार्फत सुरक्षित, आत्मविश्वासी र सम्मानित जीवन निर्माणतर्फ प्रेरित गर्ने एक सशक्त पहल हो।
अब यी ५० मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्नो समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने दूतका रूपमा सक्रिय हुनेछन्।