रौतहट। नेकपा एकीकृत समाजवादी पार्टीका रौतहट जिल्ला कमिटीले पार्टीले आयोजना गरेको `समाजवाद जागरण यात्रा´ लाई सफल पार्न अपिल गरेका छन्।
जिल्लाको मध्य भाग गरुडामा बुधबार बसेको जिल्ला कमिटीको बैठकमा बोल्दै पार्टीको जिल्ला अध्यक्ष कमल यादवले नेकपा (एकीकृत समाजवादी)ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु हुने बताएका छन् ।
रौतहट क्षेत्र नम्बर ४ का पूर्व सांसद एवं पार्टीका केन्द्रीय सदस्य रामकुमार भट्टराईले समाजवाद जागरण यात्राले असोज १७ गते बेलुकी रौतहटमा विषयगत छलफल र १८ गते बृहत सभा हुने कार्यक्रम तय गरिएको बताएका छन् ।
भट्टराई अनुसार यात्राका क्रममा मुलुकमा विकसित राष्ट्रिय राजनीतिका बारे जनतालाई जानकारी गराउने, समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिनेछ ।
पार्टीका केन्द्रीय सदस्य कल्याणी खड्का अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ । राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले) सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रूपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइनेछ । विभिन्न ठाउँमा छलफल गर्दै पश्चिम महाकालीमा पुगेर असोज २९ गते अन्तिम कार्यक्रम गरिनेछ ।
सो बैठकमा प्रदेश सांसद कनिश पटेल,बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप यादव,गौर नगरपालिकाको मेयर शम्भु साह,बृन्दावन नगरपालिकाको मेयर बिनोद पटेल,जिल्ला इन्चार्ज सारला यादव,पूर्व प्रदेश सांसद नागेन्द्र यादव,गरुडाको मेयर प्रत्यासी बृजकिशोर यादव वडा अध्यक्ष तुरन्त नरायण यादव,लक्ष्मी नरायण यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।