काठमाडौँ ।। २०७४ को चुनावबाट ७ सय ५३ स्थानीय तहका विभिन्न पदमा ३५ हजार ४१ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमा १४ हजार ३ सय ५२ जना महिला रहेका छन् । यो कार्यकालमा स्थानीय तहमा जनप्रतिनिधि महिलाको सहभागिता बढेको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि जनप्रतिनिधि महिलाको सङ्ख्या मात्रै होइन, सीप सिक्ने र स्वरोजगार बन्ने महिलाको सङ्ख्या पनि बढिरहेको छ । स्थानीय सरकार गठन पछि काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १ फुलबारीका कल्पना सत्याल क्रिस्टलका गरगहनाको व्यवसाय गर्नुहुन्छ । वडा कार्यालयले गत वर्ष दिएको सीप विकास तालिमले उहाँलाई व्यवसायी बनायो । कल्पनासँगै तालिममा सहभागी अन्य १६ महिला पनि यही पेशामा जोडिएका छन् । वडा नम्बर १ ले यो पाँच वर्षे अवधिमा महिलाहरूलाई लक्षित गरि माला बनाउने, सिलाइकटाइ, सौन्र्दय व्यवसायदेखि अगरबत्ती बनाउने सम्मका तालिम दिएको छ । वडाबाट लगभग ४ सय ५० महिलाले विभिन्न थरी सीप सिकेका छन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण बछेराका अनुसार ५ बर्षे कार्यकालमा वडाबाट महिला सशक्तिकरणमा मात्रै केन्द्रीत भएर दर्जनभन्दा बढी कार्यक्रम चले । जसबाट दुई सय ४० महिलाले सीप विकासको तालिम लिएका छन् । सिरहाको भगवानपुर गाउँपालिकाले वडा कार्यालयमार्फत महिलालाई सिलाईकटाई, ब्युटीसियन, व्यावसायिक कृषि लगायत तालिम दिएको छ । पाँच वटा वडा रहेको पालिकामा प्रत्येक वर्ष दुई सय महिलाले स्वरोजगारमुलक तालिम लिएका छन् । यसरी हेर्दा ५ वर्षमा गाउँपालिकाभरिबाट तीन हजार महिला सीपयुक्त बनेका छन् । बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल प्रसाद पौडेलका अनुसार वडाबाट ५ वर्षमा करिब पाँच सय महिलाले सीपमुलक तालिम लिएका छन् । अन्य वडाको पनि सरदर तथ्याङ्क उस्तै छ । यसरी हेर्दा नगरपालिकाभरिमा लगभग पाँच हजार महिला स्वरोजगारमूलक तालिममा जोडिएका छन् । ५ वर्षमा सात सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामार्फत कति महिलाले सीप सिके भन्ने एकिन तथ्याङ्क छैन । तर, सरदरमा एउटा वडाबाट वार्षिक २ सय महिलाले सीपमूलक तालिम लिएका छन् । यसरी हेर्दा देशभरका झण्डै १३ लाख ४८ हजार महिला वार्षिक रूपमा क्षमता अभिबृद्धी र सीप विकास तालिममा जोडिएका छन् । कतिपय समयमा सीपमूलक तालिम लिनेहरू दोहोरिएका पनि छन् भने कोरोनाको कारण झण्डै डेढ वर्ष सीपमूलक तालिमका कार्यक्रम भएनन् । तर, पनि स्थानीय सरकारकै तथ्याङ्क मान्ने हो भने पनि सीप सिकेका मध्यबाट झण्डै आधा, आय आर्जनमूलक काममा जोडिएका छन् । जसले महिला सशक्तिकरण बढाएको छ ।
स्थानीय सरकार आएपछि महिला सशक्तिकरणको योजना प्रभावकारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।