काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २९० महिला र ६९० पुरुष गरी ९८०जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार देशभर सक्रीय संक्रमितको संख्या १७, ०२७ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९,२०१ होम आइसोलेसनमा ७, ८२६ जना संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंमा २९० भक्तपुरमा ३२ र ललतिपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा डिस्चार्ज हुने संक्रमितको संख्या १८१४ रहेको छ । हालसम्म जम्मा डिस्चार्ज हुनेको संख्या २८,९४१ रहेको छ । २४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १०, ३८२ रहेको छ ।
२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका छन् । त्यसैगरी पुरुषमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय रहेका छन् ।नेपालमा मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।