काठमाडाैं ।। नोबेल कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ उडान सुरु हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिइएको छ । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार यात्रुहरुले भौतिक दुरी कायम गर्नुपर्ने छ र त्यसका लागि भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरिएको छ । प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । आजबाट उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान सञ्चालन गर्न प्राधिकरणले हवाइ कम्पनीहरूलाई निर्देशन दिएको छ ।
दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।