काठमाडाैं ।। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न आवश्यक तयारी र गृहकार्य गरिरहेको जानकारी रजिस्ट्रार दाहालले दिनुभयो । विश्वविद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिए पनि उच्च शिक्षामा धेरै विद्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here