भरतपुर।। चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजर लगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक–एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो । कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चार माध्यमबाट बाहिरिएपछि छानबिन गर्न समिति गठन गरिएको हो ।
संकटका बेला सामानहरू चोरी गर्नू दुखद भएकाले के कति सामग्री कसले चोरेको हो भन्ने छानबिन गर्न समिति बनाएको भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले सीआइएनसँग बताउनुभयो । छानबिन समितिलाई एक साताभित्र प्रतिवेदन दिन भनिएको महानगरले जनाएको छ ।
अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ ।
ती कर्मचारीले चैत ३० गते राति करिब साढे नौ बजे सामान स्टोरबाट चोरेको आरोप छ । कोरोना संकटका बेला अस्पतालबाट सामग्री चोरी भएको भन्दै नेपाली कांग्रेस चितवनले पनि विज्ञप्ति निकालेर छानबिन गर्न माग गरेको छ ।