काठमान्डु ।। कोभिड १९ का कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि मुलुकभरका सामुदायिक रेडियो र स्थानीय तह एकसाथ अघि बढ्ने भएका छन् ।
स्थानीय सरकार र सामुदायिक रेडियोबीच सहकार्य गर्दै कोभिड १९ को सामना गर्ने बारेमा सामुदायिक रेडियो प्रसारक सङ्घ, अकोराब, गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घबीच आज ५ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार नै मातहतका निकायमा परिपत्र गरिएको छ ।
आवश्यक स्थानीय सञ्चार माध्यमसँग सहकार्य र सहयोग गर्न देश भरका स्थानीय तहलाई आब्हान गर्ने, स्थानीय तहहरुले कोरोना संक्रमण फैलिन नदिन सञ्चालन गरेका अभियानमा सामुदायिक रेडियोहरुलाई आग्रह गर्ने, महिला, एवं फरक क्षमता भएकाहरु तथा पेशागत रुपमा दैनिक ज्यालादारी गर्नेहरु र किसान बढी प्रभावित हुने भएकाले उनीहरुलाई लक्षित गरि राहत र संरक्षणको नीति अबलम्बन गर्ने सहमति भएको छ ।
बन्दाबन्दीका कारण एफएम रेडियो दैनिक सञ्चालन गर्न समेत कठिन बन्न थालेको अवस्थालाई मध्यनजर गर्दै तत्काल रेडियो सञ्चालनको लागि श्रोत साधनको उपलब्धतामा संवेदनशिल हुन सवैको ध्यानाकर्षण गराउने पनि सहमति भएको छ ।
स्थानीय सरकारलाई थप बजेट बिनियोजन गर्ने एवं कोरोना रोकथाम कोष वृद्घि गरी गरिब, भूमिहीन तथा अनौपचारीक क्षेत्रमा कार्यरत मजदुरहरुको लगत राखी राहत उपलब्ध गराउन निर्वाचित जनप्रतिनिधीहरुको सक्रियता बढाउन आग्रह गर्ने पनि सहमति भएको छ ।