काठमान्डु ।। सरकारले अस्ति ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश विवादमा परेको छ । सत्तासीन दलभित्रैबाट अध्यादेशको विरोध भएको छ भने प्रमुख प्रतिपक्षीदलले पनि फिर्ता लिन माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हिजो ल्याएका दुईवटा अध्यादेश फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले गलत समयमा गलत आशयका साथ सरकारले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले कुनै छलफल वा परामर्श नगरी हतारमा दुईवटा अध्यादेश प्रमाणीकरण गर्नु पनि रहस्यमय भएको निष्कर्ष काँग्रेसले निकालेको बताउनुभयो । सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धीका दुईवटा अध्यादेश मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो ।
दुवै अध्यादेश हिजो साँझै प्रमाणिकरण भइसकेका छन् । अध्यादेशविरुद्ध उभिनका लागि सबै राजनीतिक दल, पेशाकर्मीलाई अपिल गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । सभापति देउवाले पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाएर छलफल गर्नुभएको हो ।
नेकपाका नेताहरुले पनि अध्यादेशको विरोध गर्नु भएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले अहिले अध्यादेश ल्याउनु उचित नभएको टिप्पणी गर्नु भएको छ ।