वीरगञ्ज । पर्साबाट भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ बस्ने रामपुकार चौरसिया, वीरगञ्ज– ३२ बस्ने ३० वर्षीय नारायण राम र २० वर्षीय राजन महरालाई पक्राउ गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अव्हान गरेको समयमा उनीहरु भने भारततर्फ अवैध रुपमा मदिरा लैजाँदै थिए । भारतको बिहार राज्यमा मदिरा खरिद, बिक्री र सेवन प्रतिबन्धित छ । त्यसैले नेपालबाट भारततर्फ मदिरा तस्करी हुनुको साथै भारतीयहरु मदिरा पिउनकै लागि नेपाल आउने गरेका छन् । आइतबार साँझ वीरगञ्ज–१६ स्थित वीरगञ्ज् भन्सार कार्यालय पछाडीबाट ३ कार्टुन कस्तुरी रक्सी सहित चौरसिया पक्राउ परेका हुन । राजन र नारायणलाई भने पर्सागढी नगरपालिका –४ भेडाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साइकलमा अवैध घरेलु मदिरा ३५ लिटर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र शाहीले जानकारी दिए । बरामद गरिएका मदिरा र साइकलसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
श्राेत ःः अनलाईन खबर