बाजुरा ।। यहि आर्थिक वर्षदेखी स्याउको बजारीकरण सुरु गरेको कृषि ज्ञान केन्द्र बाजुराको अभियान कागती रोप्ने अभियानसम्म पुगेको छ । अर्गानिक स्याउ, आलु र सिमीको बजारीकरणको अभियान सफल पारिसकेपछि ज्ञान केन्द्र अहिले साँफे मार्तडी सडकखण्डमा उखु खेती विस्तारको तयारीमा लागेको छ । बडीमालिका नगरपालिका ९ का सुना चदारा पेशाले कृषक हुनुहुन्छ । उहाँसँग धेरै जमिन छैन । जति थियो, त्यो पनि सडक निर्माणका कारण घट्यो । बाँकी भएको जमिन उपयोग गर्न कृषि ज्ञान केन्द्रले निःशुल्क उखु वितरण तथा रोप्ने कार्यक्रम ल्याएपछि उहाँलाई खुशी लागेको छ । कृषि ज्ञान केन्द्र बाजुराले चदराको परिवारलाई २० बोट उखुको बिरुवा निःशुल्क दिएको छ । यसलाई राम्रोसँग खेती गर्न सके आम्दानीको बाटो हुने चदराको विश्वास छ । कृषि ज्ञान केन्द्रले खेर गएको जमिन सदुपयोग गर्नेगरि उखु खेती बिस्तारको योजना बनाएपछि बडीमालिका नगरपालिकाकै गोपाल विक पनि खुशी हुनुभएको छ । कृषि ज्ञान केन्द्र बाजुराले उहाँजस्ता युवाहरुलाई मजदुरी मात्र नगरी आफ्नै जमिनलाई सदुपयोग गरी आयआर्जनको बाटो पहिल्याउन उखुको बिरुवा बितरण गरेको हो । उखु वितरण तथा रोप्ने कार्यक्रम प्रदेशस्तरीय कार्यक्रम हो । कार्यक्रम प्रभावकारी बनाउन ज्ञान केन्द्र्रले ३० जना भन्दा बढी प्राविधिकलाई खटाएको जिल्ला कृषि ज्ञानकेन्द्र बाजुरा प्रमुख गोविन्द सिजापतिले बताउनुभयो । लगभग ६ सय ५० क्वीन्टल उखु यस वर्ष वितरण गरिएको उहाँको भनाइ छ । उखु खेतीका लागि सामान्यतया उष्ण वा शितोष्ण हावापानी उपयुक्त हुन्छ । तर, अन्य स्थानमा पनि उखु खेतीको सम्भावना हुने कृषि प्राविधिकहरूको भनाइ छ । ज्ञान केन्द्रले यो बर्ष उखु उत्पादन गरिसकेका किसानलाई अर्को बर्ष उखुको जुस बनाउने मेसिन बितरण गर्ने योजना बनाएको छ । विदेशबाट फर्किएका ,बेरोजगार युवाहरूलाई लक्षित गर्दै कृषि ज्ञान केन्द्र बाजुराले ल्याएको योजनालाई स्थानीयले मन पराएका छन् ।
उखु खेती विस्तार गर्दै कृषि ज्ञान केन्द्र बाजुरा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।