जाजरकोट ।। जाजरकोट नेपाल जातीय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको जेठ २१ गते १४ वर्ष पुग्दैछ । तर घोषणा बारे धेरै नागरिकलाई थाहै छैन । देशका धेरै ठाउँमा अझैपनि जातीय विभेदका घटना सार्वजनिक भइरहेका छन् । तर जाजरकोटको भेरी नगरपालिकालाई भने जातीय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गरिने भएको छ । भेरी, जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहलकदमी लिने पहिलो नगरपालिका हो । आगामी जेठ २१ गते जातीय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा गर्न नगरपालिकाले झण्डै ४० जना सामाजिक अभियन्ता तयार गरी सचेतनाको काम अघि बढाएको छ । जाजरकोटको भेरी नगरपालिकाले जातीय विभेद विरुद्धको अभियान चलाएपछि स्थानीय सीता सुनार खुशी हुनुहुन्छ । भेरी नगरपालिका जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुतमुक्त नगर बन्दैछ । त्यसका लागि गाउँगाउँमा जातीय विभेद विरुद्ध सचेतनाका अभियान चलाइएको छ । स्थानीय हजारी नेपाली स्थानीय सरकारको अभियानमा आफ्नो पनि साथ रहेको बताउनुहुन्छ । अभियान अन्तर्गत नगरपालिकाले, जातीय छुवाछुत तथा भेदभाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणाका सूचक निर्माण गरेको छ । त्यसै अनुसार अभियन्ताहरू गाउँगाउँमा पुगेको एकजना अभियन्ता मिना शाहले बताउनुभयो । जातीय छुवाछुत तथा भेदभाव सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँगाउँमा गएर छलफल समेत गरिएको छ । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । नगरपालिकालाई कागजमा मात्रै नभएर, व्यवहारमै जातीय छुवाछुत तथा विभेदमुक्त घोषणा गर्नुपर्ने दलित समुदायका अगुवाहरु बताउँछन् ।
भेरी नगरपालिकालाई छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गरिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।