पर्वत ।। कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न पर्वतमा अहिलेसम्म ठोस रूपमा पूर्वसतर्कता र सुरक्षाका काम हुन सकेका छैनन् । एक साताअघि बसेको सर्वपक्षीय बैठकले तत्काल पाँच शैय्याको आइसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरे पनि अहिलेसम्म बन्न सकेको छैन । जिल्ला अस्पतालमा भवनको अभाव हुँदा आइसोलेसन वार्ड बनाउन नसकिएको हो । शंकास्पद बिरामीहरूको परीक्षण गर्ने आवश्यक औजार तथा उपकरणसमेत नभएको अस्पतालले जनाएको छ । मौसम परिवर्तन हुने समय भएकाले पर्वतमा कोरोनाका जस्तै लक्षण देखिएका बिरामी प्रशस्त आउने गरेका छन् । जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार दैनिक एकसय ३० को हाराहारीमा सिजनल फ्लूका बिरामी आउने गरेका छन् । अहिले वालबालिकालाई मौसमा आएको बदलीले रुघाखोकी लाग्ने, रातीमा कडा ज्वरो आउने र औषधी सेवन गरेपनि निको नहुने समस्या देखिन थालेको छ । बालबालिकामा कडा रोग लागेको हो कि भन्ने चिन्तामा अभिभावक अस्पताल धाउन थालेका छन् । अधिकांशमा कडा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामी पनि आउँछन् । भाइरल इन्फेक्सनलाई पनि कोराना संग तुलना गर्दै अभिभावकहरु आत्तिदै अस्पतालमा पुग्ने क्रम बढेको छ । शंकास्पद बिरामीलाई परीक्षण गर्दा लगाउनुपर्ने एप्रोन (लुगा) नहुँदा परीक्षण गर्न नसकिएको डा. देवकोटाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले कोरोनाको सतर्कताका लागि आवश्यक सामग्री प्रदेश सरकारबाट माग गरिएको बताउनुभयो । उहाँले चिकित्सकका लागि आवश्यक सामग्री र आइसोलेसन वार्डका लागि चाहिने सामग्री लिखित रूपमा प्रदेश सरकारसँग माग गरिएकाले केही दिनमा आइपुग्ने बताउनुभयो । कोरोनाको लक्षण देखिएका बिरामीलाई आइसोलेसन वार्डमा राखेर परीक्षण गर्न एक÷दुई दिन लाग्ने प्रजिअ नेपालले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here