जनकपुर ।। प्रदेश २ को नाम र स्थायी राजधानी टुङ्गो लगाउन प्रदेशसभा बैठकमा मतदान हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार नाम र राजधानीको टुंगो लगाउन फागुन २३ गते मतदान हुनेछ ।
फागुन २२ गते बस्ने प्रदेश सभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुङ्गो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो। सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेश सभा बैठक यही फागुन २२ मा बोलाइएको बताए। उनले फागुन २२ गते दिउँसो १ बजे प्रदेश सभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए।
सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरू हुनेछ। प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको र सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गरिने सभामुख यादवले बताए।
प्रदेश २ को स्थायी राजधानीबारे सबै दल एकमत भए पनि प्रदेशको नाममा सहमति हुनसकेको छैन। प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मतरूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो।
समितिले प्रदेशको राजधानीको टुङ्गो लगाए पनि प्रदेशको नामकरण भने टुङ्गो लगाउन सकेको छैन। समितिको पहिलो बैठक सुरू भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो।
प्रदेश २ मा कुल १ सय ७ सांसद छन्। जसमध्ये नेकपासँग ३२, समाजवादी पार्टीसँग ३०, राजपासँग २५, कांग्रेससँग १९ र संघीय समाजवादी नेपालसँग १ सांसद छन्। सत्तारुढ राजपा र समाजवादी पार्टी एक ठाउँमा उभिँदा पनि स्पष्ट बहुमत पुग्दैन। जसका कारण नाम राख्ने विषयमा झमेला हुने देखिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here