दाङ ।। दाङमा लागूऔषध न्यूनीकरणका लागि विद्यालयस्तरबाट अभियान चलाइएको छ । अभियान अन्तर्गत विद्यालय वरपर मदिराजन्य पदार्थ विक्री वितरण नगर्न व्यवसायीहरुलाई सचेत गराउने काम विद्यार्थीहरूले गरिरहेका छन् । दाङको घोराहीका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी लागूऔषधको प्रयोगलाई निरुत्साहित गर्न अभियानमार्फत् सक्रिय भएका हुन् । घोराही नगरपालिका १४ मा रहेको सामुदायिक विद्यालय र संस्थागत विद्यालय वरपर लागूऔषध र सूर्तीजन्य पदार्थको विक्रिबितरण रोक्न विद्यार्थीहरू सक्रिय भएका हुन् । शुभप्रभात माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी बासना घर्ती मगर विद्यालय वरपर यस्ता पदार्थको विक्रिवितरण हुँदा विद्यार्थीलाई नकारात्मक असर पर्ने भएकाले अभियान थालिएको बताउनुहुन्छ । विद्यार्थीहरूले १८ बर्ष मुनिका बालबालिकालाई लागू औषध तथा सूर्तिजन्य बस्तु विक्री वितरण नगर्न व्यवासायीहरुलाई आग्रह गर्ने गरेका छन् । मदिरा कार्यान्वयन ऐन २०३१, लागू औषध नियन्त्रण ऐन २०३३ र सूर्तीजन्यपदार्थ नियन्त्रण र नियमनगर्ने ऐन २०६८ कार्यान्वयका विषयमा पनि शिक्षक र विद्यार्थीले जानकारी गराउने गरेको गोरखा माध्यमिक विद्यालयमा अध्ययनरत स्नेहा सुनार बताउनुहुन्छ । ‘लागूऔँषध दुव्र्यसन बिरुद्धको अभियान, कानुन कार्यन्वयन र सहि पहिचान’ भन्ने नाराका साथ जनचेतना अभियान चलाइएको हो । विद्यालय वरपर मदिराजन्यपदार्थ विक्रिवितरण हुने गरेका कारण विद्यार्थीमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि अभियान चलाइएको बालमन्दिर प्राविका शिक्षक विष्णु भण्डारीले बताउनुभयो । घोराही नगरपालिका वडा नम्बर १४ मा सामुदायिक विद्यालय ४ वटा रहेका छन् भने बोर्डिङ स्कूलको सङ्ख्या ६ रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दाङमा चालु आर्थिक वर्षको ५ महिनामा लागू औषध मुद्दामा २५ जना व्यक्ति पक्राउ परेका छन् ।
दाङमा लागूऔषध नियन्त्रणका लागि विद्यार्थीको अभियान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।