डडेल्धुरा ।। सुदूरका जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा धेरै बिरामीले समयमा उपचार पाउँदैनन् । दुर्गम क्षेत्रमा डाक्टर आउन नमानेको भन्दै प्रदेश सरकारले विशेषज्ञ डाक्टरलाई प्रोत्साहनको कार्यक्रम पनि ल्याएको छ । प्रोत्साहनको कार्यक्रमले पनि भनेजति विशेषज्ञ डाक्टर पाउन नसकेको सामाजिक विकास मन्त्रालयको भनाइ छ । संघीय सरकार अन्तरगत रहेको डडेलधुरा अस्पतालमा भने अहिले चारजना विशेषज्ञ डाक्टर आइपुगेका छन् । विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडि जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ लगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सजिलो भएको छ । डडेल्धुरा अस्पताल, सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एकमात्र अस्पताल हो । अस्पतालमा सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक उपचारका लागि पुगिरहेका छन् । केही महिनाअघि सुनसानजस्तै रहेको यो अस्पतालमा अहिले बिरामीको भीड देखिन्छ । डडेल्धुरा अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृत्ति तर्फका चारजना विशेषज्ञ चिकित्सक पठाएपछि ७ बर्ष पहिलेदेखी बन्द भएका स्वास्थ्य सेवा पनि सुरु भएको डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.राजन साहले बताउनुभयो । अस्पतालमा हाल स्त्रीरोग, हाड जोर्नी, दन्तरोग, बालरोग लगायतका नौ जना विशेषज्ञ चिकित्सक छन् । विशेषज्ञ चिकित्सक पुगेपछि शल्यक्रिया समेत सुरु गरिएको निमित्त मेडिकल सुपरिडेन्डेन्ट डा.जगदिश चन्द्र विष्टले जानकारी दिनुभयो । अस्पतालमा १९ विशेषज्ञ डाक्टरको दरबन्दी छ । अहिले ९ जना पुगेपनि अस्पतालको स्वास्थ्य सेवाबाट सुदुरपश्चिम प्रदेशका बैतडी, दार्चुला, डोटी, बझाङ जिल्लाका बिरामीलाई उपचारका लागि सजिलो भएको छ ।
डडेल्धुरा अस्पतालमा विशेषज्ञ डाक्टर आएपछि उपचारमा सजिलो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।