सिमरा ।। उधारोमा उखु बेचेर जिविकोपार्जन गर्नै समस्या भएपछि नगदेबालिका रुपमा मकै खेती गरेका बाराका किसान मकैमा दाना नलागेपछि चिन्तामा परेका छन् । बोटमा सुत्ला लाग्ने बेलामा धान चमरामै दाना देखिएपछि किसानलाई बिउकै लगानी उठाउन पनि मुस्किल हुने देखिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका किसान धनदेवी कार्की पहिले उखु खेती गर्नुहुन्थ्यो । ऋण खोजेर लगाएको नगदेबाली उधारोमा बेच्नुपर्ने र समयमै भुक्तानी नहुने भएपछि गत वर्षदेखी उहाँले उखु छाडेर मकै खेती थाल्नुभयो । तर पहिलो वर्ष राम्रै आम्दानी दिएको मकैमा यस वर्ष दाना लागेको छैन । अर्का किसान दीर्घमायालाई पनि मकैमा गरेको लगानी उठ्दैन कि भन्ने चिन्ता छ । बडहर्वाकै अर्का किसान शिव कुमार कार्कीले पनि उखु छाडेर साढे दुई बिगाह खेतमा मकै लगाउनुभयो । अहिले खेतभरी हराभरा मकैका बोट छन्, तर ऋण खोजेर लगाएको मकैमा घोगा नलाग्दा उहाँको मन भने हराभरा छैन । राम्रो आम्दानी हुने आसमा लगाएको मकैको घोगामै दाना नदेखिएपछि स्थानीय किसान शोभा गिरिले बोट नै काटेर गाईबस्तुलाई खुवाउनुभयो । जितपुरसिमरा, कलैया, करैयामाई, कोल्हबी लगायतका स्थानमा तीन सय बिगाहामा लगाईएको मकैमा दाना नलाग्ने समस्या देखिएको छ । हिउँदे मकैमा परागसेचन हुने बेला तापक्रम नमिल्दा यस्तो समस्या देखापर्ने गरेको भएपनि तत्काल यकिनसाथ केहि भन्न नसकिने कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । मकैमा दाना नलाग्ने समस्या पहिचान र निदानका लागि अध्ययन गर्न केन्द्र र प्रदेशबाट प्राविधिक झिकाइएको बताइएको छ । बारामा वार्षिक ५० हजार मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । तर यसवर्ष मकैमा घोगा लाग्ने, दाना नलाग्ने समस्या देखिएपछि किसान निराश भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here