ओम प्रकाश यादव
रौतहट ।। नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले कम्युनिष्ट सरकार कुनै पनि हालतमा संविधान संशोसन गर्न नसक्ने दावी गरेका छन । मधेशवादी दलले अधुरो संविधानलाई पुरा गर्नको लागि जति संघर्ष र आन्दोलन गरेपनि नेकपाको सरकार कुनै पनि हालमा संविधान संशोधन गर्न नसक्ने कांग्रेसका केन्द्रिय सदस्य ढुंगानाले स्पष्ट पारेका हुन । आउँदो माघ ९ गते हुन लागेको रास्ट्रिय सभा सदस्यको निर्वाचनको लागि प्रदेश २ मा समाजवादी र कांग्रेस एकआपसमा तालमेल गरेपछि पहिलो पटक आज दुवैपार्टीको बीच रौतहटको गरुडा स्थित आर्शिवाद गेष्ट हाउसमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना मधेशको प्रमुख मुद्धा संविधान संशोसन नेपाली कांग्रेसको सरकारले मात्रै गर्न सक्ने दावी गरेका छन । वर्तमान संविधान सर्वसम्मत नरहेको बताउँदै उनले संविधान संशोसनको लागि कांग्रेस सरकारको विकल्प नरहेको समेत बताए । कम्युनिष्ट सरकार लोकतन्त्रको पक्षमा नरहेको आरोप लगाउँदै उनले लोकतन्त्रको विरोधी नेकपालाई आउँदो रास्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश २ का जनताले परास्त गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले आउँदो निर्वाचनमा कांग्रेस र समाजवादीको संयुक्त गठबन्धको उम्मेदवारहरुलाई मत दिएर विजयी गराउनको लागि रौतहटको स्थानीयतहहरुका प्रमुख र उपप्रमुखहरुलाई आग्रह गरेका छन । त्यस्तै आन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले आउँदो रास्ट्रिय सभा सदस्यको निर्वाचनमा सबैलाई एकजुट भई तटस्थ रुपमा लाग्न जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिएका छन । माघ ९ गते हुने निर्वाचनमा कांग्रेस र समाजवादीका उम्मेदवारहरुलाई चुनाव चिन्ह पंजा र रुख छापमा मतदान गरी अत्याधिक मतले विजयी बनाउन रौतहटका कांग्रेस र समाजवादी पार्टीका नगर प्रमुख र उप प्रमुखहरुलाई कृषि राज्य मन्त्री यादवले निर्देशन दिएका हुन । निर्वाचनमा प्रदेश २ मा कांग्रेस र समाजवादी पार्टीको उम्मेदवार निर्वाचित भएपछि मात्रै लोकतन्त्र, बहुलवाद र मधेशीको स्वभीमान एवं पहिचानको जित हुने भएकोले सबैलाई एक ढिका भई लाग्न समाजवादी युवा संघका केन्द्रिय सदस्य समेत रहेका कृषि राज्य मन्त्री यादवले आग्रह गरेका छन । चार पदको लागि हुन लागेको निर्वाचनमा समाजवादी पार्टीबाट अनिरुद्ध कुमार सिंह र रामपृत पास्वान उम्मेदवारी दिएका छन भने कांग्रेसबाट नगिना यादव र भोला पंजियार उम्मेदवारी दिएका छन । आयोजित अन्तरक्रिया कार्यक्रममा रास्ट्रिय सभा सदस्यको निर्वाचनमा कसरी भाग लिने, चुनाव कसरी जित्ने, मत कसरी खसाल्ने लगाएतको विषयमा छलफल भएको छ । कांग्रेसका रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका पुर्व मन्त्री एवं केन्द्रिय सदस्य रामकृष्ण यादव, नेता रामसरोज यादव, पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्र, समाजवादीका महा सचिव राम सहाय यादव, अर्थ राज्य मन्त्री उशा यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद फुलबाबु, प्रदेश सांसद किशोरी यादव, पर्साका संघिय सांसद प्रदिप यादव, युवा नेता राजकुमार दासका साथै कांग्रेसबाट निर्वाचित गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादव, गरुडा नगरपालिकाकी उप मेयर रंगिला देवी जयसवाल, समाजवादी पार्टीबाट निर्वाचित देवाही गोनाही नगरपालिकाका प्रमुख एवं पार्टी जिल्ला सभापति धर्मेन्द्र पटेल लगाएत कांग्रेस र समाजवादी पार्टीका रौतहटका सबै स्थानीयतहका प्रमुख र उप प्रमुखहरुको सहभागिता रहेको कृषि राज्य मन्त्री माननिय योगेन्द्र यादवका विकास प्रतिनिधि राम नरेश यादवले बताए ।