पाल्पा ।। बगनासकाली गाउँपालिकाका सबै विद्यालय बालमैत्री विद्यालय घोषणा भएका छन् । बगनासकाली १ का ६ वटा विद्यालयलाई हिजो बालमैत्री भएको घोषणा गरे सँगै गाउँपालिकाका ३७ वटै विद्यालय बालमैत्री बनेका हुन् । ग्राम्य माध्यमिक विद्यालयमा आयोजित घोषणासभाका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बालमैत्री विद्यालय घोषणाले सरोकारवालामा बालअधिकार र शैक्षिक जागरणको चेतना वृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका जनप्रनिधिले सबै विद्यालयको निरीक्षण तथा अनुगमन पश्चात बालमैत्री विद्यालय घोषणा सफल भएको जानकारी दिनुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले पौष महिनाभित्र बालमैत्री बिद्यालय घोषणा गरी चैत्र मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । स्थानीय बालमैत्री शासनका फोकल पर्सन मनोज आचार्यले बालमैत्री विद्यालयका सूचकहरू पूरा गरेर ३७ वटै विद्यालयहरूलाई बालमैत्री विद्यालय घोषणा गरिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरूलाई बालमैत्री विद्यालय घोषणा प्रमाणपत्र प्रदान गरिएको छ । बगनासकाली गाउँपालिकामा हाल ३० वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय रहेका छन् । ३७ वटा विद्यालयमा ३ हजार ६ सय ५० विद्यार्थी रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here