लमजुङ ।। लमजुङका आठ स्थानिय तहका ७५ वडामध्ये २४ वडामा अझै वडासचिव पुग्न नसक्दा प्रशासनिक काममा समस्या भएको छ । विकट क्षेत्रका स्थानीय तहमा वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या परेको स्थानीयहरुको गुनासो छ । वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा कार्यालय प्राविधिकको भरमा चलिरहेको छ । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति बढ्दै जाँदा स्थानीय तहमा वडासचिवको अभाव भएको हो । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजन पछि सरुवा भएर अन्यत्र गएपछि लमजुङका २४ वडा सचिव विहीन बन्न पुगेका छन् । लमजुङको विकट क्षेत्र दुधपोखरी गाउँपालिका–६ वटा वडामध्ये ३ वटा वडामा वडासचिव नभएको गाउँपालिकाका अध्यक्ष छुपिमायाँ गुरुङले बताउनुभयो । मध्यनेपाल नगरपालिकाको १० वटा वडामध्ये ५ वटा वडामा वडासचिव छैनन् । पर्याप्त कर्मचारी नहुँदा कामकाज प्रभावित बनेको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे बताउनुभयो । दोर्दी गाउँपालिकाको ९ वडामध्ये ४ वटा वडा सचिव विहीन छन् । राइनास नगरपालिकाको १० वडामध्ये ४ वटा वडामा वडासचिव खाली छ भने सुन्दरबजार नगरपालिकाको ११ वटा वडामध्ये ४ वटा वडामा वडासचिव छैनन् । मस्र्याङ्दी गाउँपालिकाको ९ वटा वडामध्ये ३ वटा वडामा अझै वडासचिव छैनन् । क्व्होँलासोथर गाउँपालिकाको ६ वडा वडामध्ये एउटा वडामा वडासचिव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनुभयो । जिल्लाका आठ स्थानिय तहमध्ये बेसीशहर नगरपालिकाको ११ वटै वडामा वडासचिव भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङका स्थानीय तहमा कर्मचारी अभावले सेवा प्रभावहमा समस्या भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here