बारा ।। अत्यधिक चिसोका कारण बारामा फेरि एक जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित मस्जिद टोलका ५५ वर्षका स्माइल मेहा मन्सुलीको चिसोका कारण मृत्यु भएको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिनुभयो । फुसको घरमा बस्दै आएका उनको हिजो बिहान मृत्यु भएको वडा अध्यक्ष देवानले जानकारी दिनुभयो । यो सँगै बारामा जाडोका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसैबीच, पुस लागेदेखि नै शीतलहर सुरु भएको तराई मधेशमा चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले जनजीवन कष्टकर बन्दै गएपनि जीतपुरसिमरा उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक अझै बस्न सकेको छैन । नगर प्रमुख डा. कृष्ण पौडेलले चाँसो नदिँदा बैठक बस्न नसकिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा अध्यक्ष अस्लम देवानले बताउनुभयो । कार्यपलिका मार्फत विपद् व्यवस्थापन समितिको संयोजकमा आफु रहने भनिएपनी बैठक आह्वान गर्ने अधिकार नगरप्रमुखमा निहित भएकाले आफुले बैठक राख्न नसकेको उहाँले बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. पौडेलले भने यस विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिनुभएको छ ।
अत्यधिक चिसोका कारण बारामा फेरि एक जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।