जनकपुर ।। शीतलहरका कारण तराई मधेशको जनजीवन प्रभावित बनेको छ । तराईमधेसमा शीतलहरका कारण हरेक वर्ष नागरिकलाई दैनिकी चलाउन समस्या हुन थालेको छ । रौतहट परोहा नगरपालिकाका हरिशंकर दासको ९ जनाको परिवार छ । शीतलहर सुरु भएपछि कसरी जोगिने भन्ने चिन्ता छ । सप्तरी सुरुङ्गा नगरपालिकाका कमलादेवी यादव आफ्नो भन्दा पनि छोराछोरी बिरामी पर्नेे पीर छ । जनकपुरका हरिजन रामलाई सरकारले शितलहरबाट जोगाउन गतवर्ष कपडा दिएको थियो । यस वर्ष न कपडा छ न बस्नलाई घर । कपडा र दाउरा बाँडेर मात्रै शितलहरबाट जोगिन नसकिने प्रभावित बताउँछन् । केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले झन्डै एक महिना अघि शितलहरसहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणका विशेष कार्ययोजना बनाउन प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको थियो । त्यहि निर्देशन अनुसार सिरहाको अर्नामा गाउँपालिकाका अध्यक्ष ठकु महतोले कार्ययोजना बनाएर काम सुरु गरिएको बताउनुभयो । उहाँले कार्ययोजना अनुसार अहिले सम्म कम्मबल बाँड्ने काम भइरहेको र दाउरा बाँड्ने काम पनि भइरहेको बताउनुभयो । सर्लाही कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवका अनुसार कार्ययोजना अन्तर्गत वन कार्यालय सँग समन्वय गरेर दाउरा बाडिएको र कम्बल पनि बाँडिएको छ । शीतलहरले बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढि प्रभावित भएका छन् । प्रदेश भरिका नागरिकलाई शीतलहरबाट जोगाउनका लागि २ नम्बर प्रदेशले आवश्यक निर्देशन दिएको दावी गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सम्बन्धीत सबै मन्त्रालय र गैर सरकारी संस्थासँग छलफल गरेर कार्ययोजना बनाएर निर्देशन जारी गरिएको बताउनुभयो । उहाँले कार्ययोजना अनुसार सबै स्थानीय सरकारलाई आफ्नो स्थानमा भएका गतिविधिको बारेमा हरेक दिन जानकारी गराउन भनिएको र कुनै अप्ठ्यारो परे तत्काल प्रहरी वा प्रदेश सरकारलाई उद्दारका लागि खबर गर्न पनि भनिएको बताउनुभयो । कम्बल बाँड्ने, दाउरा बाँड्ने, रेडक्रस, स्काउट लगायतका संस्थालाई पनि शीतलहरबाट राहत पु¥याउने काममा खटिन पनि आग्रह गरिएको उहाँले बताउनुभयो । शीतलहर र चिसोको समस्याबाट जोगिन, बिहान बेलुका घर बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान चिकित्सकहरुको सुझाव छ ।
शीतलहरका कारण तराई मधेशको जनजीवन प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।