कैलाली ।। छोरीहरूको सुरक्षा र बालविवाह अन्त्य गर्ने उद्देश्यले कैलालीको टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यकक्रम सुरु गरेपछि नगर क्षेत्रमा बसोबास गर्ने अभिभावकहरू खुसी भएका छन् । नगरपालिकाले कार्यविधि नै बनाएर गत साउनदेखि यो कार्यक्रम लागू गरेको छ । ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले बालविवाहको अन्त्य, लैङ्गिक विभेदको अन्त्य गर्नुका साथै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता परिपूर्तिमा सहयोग पुग्ने जनप्रतिनिधिको विश्वास छ । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम सञ्चालन कार्यविधी २०७६ निर्माण गरेको छ । गएको साउन १७ गते बसेको नगरसभाले कार्यविधी स्वीकृत गरेपछि त्यहीअनुसार काम गरीरहेको नगरपालीकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । कार्यविधीमा आर्थिक वर्ष २०७६÷७७ को साउन १ गतेदेखि जन्मिएका बालिकाको हकमा मात्र यो कार्यविधि आर्कर्षित हुने, टीकापुर नगरपालिकाको स्थायी बासिन्दा भई सम्बन्धित वडाको सिफारिस भएको हुनु पर्ने उल्लेख गरिएको छ । कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाको कार्यालयमा साउन यता जन्मिएका ९२ छोरीहरूको दर्ता भएको टीकापुर नगरपालिकाका महिला बालबालिका उपशाखा संयोजक संगिता शाहले जानकारी दिनुभयो । नगरपालिकामा दर्ता भएका छोरीहरुको नाममा खाता खोली नगरपालिकाले प्रत्यक वर्ष १÷१ हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्नेछ । नगरपालिकाले आफ्नी छोरीहरूको नाममा खाता खोली रकम जम्मा गरीदिन थालेपछि अभिभावक खुसी भएका छन् । सन् २०३० सम्ममा राष्ट्रिय परिभाषा अनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाहरूको अनुपात कम्तीमा आधाले घटाउने दिगो विकासका लक्ष्यमा भनिएको छ । त्यो लक्ष्य पूरा गर्नका लागि ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग गर्ने जनप्रतिनिधिको विश्वास छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here