काठमाडाैं ।। सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । विद्यार्थी संख्याको अनुपातमा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट कम दरबन्दी रहेको विद्यालयमा शिक्षक पठाइने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । शिक्षा मन्त्रालयका अनुसार एक सय २३ स्थानीय तहबाट चार हजार आठ सय ५२ शिक्षक दरबन्दी र राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण गरिनेछ । त्यसमध्ये १४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लामा हस्तान्तरण हुनेछ । १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ । त्यस्तै, एक प्रदेशबाट अर्को प्रदेशमा एक सय पाँच वटा दरबन्दी तथा राहत कोटा मिलान हुनेछ । २०७५ असार चार गतेको मन्त्रिपरिषद् बैठकले शिक्षक दरवन्दी मिलानसम्बन्धी सुझाव पेश गर्न पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा स्थानीय तहअनुसार दरवन्दी मिलान गर्न लागिएको मन्त्रालयले जनाएको हो ।
आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने सरकारको दावी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।