काठमाडौं ।। चिसो बढ्दै गर्दा हिमाल पारीको जिल्ला मुस्ताङबाट फर्किने पर्यटकको सङ्ख्या पनि बढ्दैछ । पुस र माघ दुई महिना मुस्ताङमा थोरै मात्रै पर्यटक पुग्छन् । तर घुम्न पुगेका पर्यटकलाई मुस्ताङको सौन्दर्यले निराश गराउँदैन । कास्कीको पोखराबाट बसमा एक दिनको यात्रा गरेपछि जोमसोम पुगिन्छ । बीचमा बाग्लुङ, पर्वत र म्याग्दी जिल्ला पर्छन् । कालिगण्डकी नदी तिरैतिरको बाटो । बाटो कच्ची भएपनि चिसो हावा र मनोरम वातावरणले पर्यटकहरु लोभिन्छन् । जोमसोममा सुविधा सम्पन्न होटलहरु छन् । एकरात जोमसोममा बिताएपछि भोलिपल्ट बिहानै मुक्तिनाथको यात्रा शुरु हुन्छ । दुईघण्टे यात्राको बीचमा पर्छ, कागबेनी । झण्डै ३८ सय मिटरको उचाईमा रहेको मुक्तिनाथ पुग्नै लाग्दा कतिपयलाई लेक लाग्छ । हिंड्न नसक्नेहरुका लागि घोंडाको व्यवस्था छ । सानो चिटिक्क परेको प्यागोडा शैलीको मन्दिर हो मुक्तिनाथ । मन्दिरको छेवैमा एकसय ८ धारा छन् । अनि दुईवटा कुण्ड । धारामा नुहाएपछि र कुण्डमा डुबुल्की मारेपछि दर्शनार्थीले कठिन यात्रा र थकान बिर्सन्छन् । पर्यटन वर्ष २०२० लाई सफल बनाउन मुस्ताङ जस्ता ठाउँले पर्यटक तान्न सक्नुपर्छ । तर पर्यटकलाई अतिरिक्त सेवा सुविधा दिनेगरि अहिलेसम्म काम भएको छैन । उद्योग बाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचन भने मुस्ताङका पर्यटन व्यवसायी र स्थानीय सरकारले आफ्नै हिसाबले नेपाल भ्रमण वर्षको तयारी गरेको बताउनुहुन्छ । मुस्ताङ पुगेका बाह्य तथा आन्तरिक पर्यटक भ्रमण वर्षको तयारीबाट खासै सन्तुष्ट छैनन् । उनीहरु पर्यटकका लागि सेवा सुविधासँगै व्यवस्थित सडक भए मुस्ताङले थेगिनसक्ने पर्यटक पाउने बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here