काठमाडाैं ।। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको चौंथो दिन काठमाडौं र पोखरामा गरी कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारत १९ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ । सागमा आज एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराँते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, टेनिस, कब्बडी, ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । पुरुष फुटबलमा नेपालले श्रीलङ्काको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपालले साँझ ५ बजे श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा नेपालले कप्तान सुजल श्रेष्ठको दुई गोल मदतमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । फुटबलमा आज एकमात्र खेल हुनेछ । यस्तै, साग क्रिकेट अन्तर्गत महिलातर्फ आज नेपालले टेष्ट राष्ट्र बङ्गलादेशसँग खेल्दैछ । पोखरा रङ्गशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलङ्का र माल्दिभ्सबीच खेल हुनेछ । यस्तै टियु क्रिकेट मैदानमा हुने पुरुषतर्फ बङ्गलादेशले २३ वर्ष मुनिको खेलमा माल्दिभ्स र श्रीलङ्काले भुटानको सामना गर्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।