काठमाडौं ।। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय बजार व्यवस्थापनको जिम्मा स्थानीय सरकारको हो । बजार व्यवस्थापन अन्तरगत स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति, तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, स्थानीय वस्तुको मूल्य निर्धारण र अनुगमन लगायतका काम पर्छन् । तर स्थानीय सरकार गठन भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि कतिपय जनप्रतिनिधी यस्तो अधिकारबारे बेखबर छन् । रौतहटको चन्द्रपुर नगरपालिका २ फूलबारी टोलका सुमन मगरलाई स्थानीय बजार अनुगमन भएको जानकारी छैन । पसलमा न सामानको मूल्य सूची छ, न त पसलेले सामान लिइसकेपछि बिल नै दिन्छन् । नगरपालिकाका उपसचिव कृष्णप्रसाद सिग्देलका अनुसार नगरपालिकाले बजार व्यवस्थापन र अनुगमनका लागि आवश्यक ऐन पनि बनाउन सकेको छैन । पाल्पाको रामपुर नगरपालिका ५ का कल्पना भुजेलले नगरपालिकाले बजार अनुगमन गरेको भन्ने त सुन्नुभएको छ । तर परिवर्तन महसुस भएको छैन । कतिपय पसलले म्याद सकिएका सामानहरु पनि विक्रि गरिरहेका छन् । स्थानीय तहको एकल अधिकारमा रहेको स्थानीय बजार व्यवस्थापन र अनुगमनका लागि स्थानीय सरकारहरुले ऐन बनाउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमन निर्देशिका भनेर पठाएको नमुना निर्देशिकाकै आधारमा काम गरिरहेका छन् र धेरैले त्यसैलाई आफूसँग भएको कानुन ठानिरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका सचिव श्रीङ्ग ऋषि काफ्ले अधिकांश स्थानीय सरकाहरु आफूले बनाउनुपर्नै ऐनका विषयमा जानकार नै नरहेका र जानकारी पाएकाहरुले पनि ऐन नबनाएको अनुगमनको क्रममा पाइएको बताउनुहुन्छ । काठमाडौं, ललितपुर लगायतका महानगरले पनि ऐन बनाउन सकेका छैनन् । झापाको दमक र सुर्खेतको विरेन्द्रनगर लगायतका केही नगरपालिकाले भने ऐन निर्माणको काम सकेका छन् । दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले ऐन निर्माणपछि काम गर्न निकै सजिलो भएको बताउनुभयो । चाडबाडको मुखमा अनुगमनका नाममा केन्द्रमा मन्त्रीदेखि गाउँका जनप्रतिनिधीसम्म टोलि बनाएर बजार घुमेको देखिन्छ । तर बजार व्यवस्थापनका लागि बनाउनुपर्ने कानून र त्यसको कार्यान्वयनका विषय भने स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन । स्वच्छ बजारका लागि स्थानीय सरकारलाई दबाब दिन नागरिकको सक्रियता पनि देखिएको छैन ।
स्थानीय बजार व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान सकेन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।